अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

ब्राजिलसँगको सीमा नाका बन्द गर्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको घोषणा

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:५९ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गर्नुभएको छ । अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामग्री भित्रिन नदिन राष्ट्रपति मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गर्नुभएको हो । राष्ट्रपति मदुरोले टेलिभिजनमार्फत् सम्बोधन गर्दै कोलम्बियासँगको सीमा पनि बन्द गर्नेबारे पनि छलफल भइरहेको बताउनुभयो ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता हुँवा गुइदोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि विभिन्न मानवीय सहायता बोकेका सामान सीमावर्ती कोलम्बियन शहर कुकुतासम्म पठाएको छ । तर भेनेजुएलाका राष्ट्रपति मदुरोको समर्थनमा रहेको सेनाले ती सामग्री प्रवेश गर्न दिएको छैन ।

विपक्षी नेता गुइदोले देशमा मानवीय सहायताको खाँचो रहेको बताए पनि राष्ट्रपति मदुरोले भने त्यस्तो कुनै पनि किसिमको समस्या नरहेको दाबी गर्दै त्यस्ता सामग्री भित्रिन नदिने बताउनुभयो । राष्ट्रपति मदुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको आरोप लगाउँदै आउनुभएको छ ।

मदुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री स्वयंसेवकको सहयोगमा भित्र्याउने बताउँदै आउनुभएको छ । यही विवादका कारण मदुरोले कोलम्बिया तथा ब्राजिलसँगको सीमा बन्द गर्ने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू