अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

संसद बैठक– पशुपति शर्माको गीतले पायो चर्चा, अख्तियार आयुक्त पाठकलाई कार्वाही गर्न माग

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:३४ मा प्रकाशित

लोकदोहोरी गायक पशुपति शर्माको विवादित बनेको पछिल्लो गीत ‘लुट्न सके लुट…’ ले संसदमा पनि चर्चा पाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले लोकदोहोरी गायक पशुपति शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाउनु लोकतान्त्रिक अधिकार हनन् भएको आरोप लगाउनुभयो ।  बैठकमा काँग्रेस सांसदले शर्माले गाएको गीत हटाउनुपर्ने अवस्था नरहेको बताउदै समर्थन गरेपछि नेकपाका सांसदले यसको विरोध गरेका थिए ।

काँग्रेस सांसद अमरेशकुमार सिंहले शर्माको गीत वास्तविक रहेको भन्दै २५ हजार पुरस्कार दिने घोषणा संसदबाट गरेपछि नेकपा सांसद झपट रावलले त्यसको खण्डन गर्नुभयो । शर्माको गीतले राष्ट्रपति, प्रधानमन्त्री, नेता कार्यकर्तालाई अपमान गरेको भन्दै नेकपाका कार्यकर्ताले बिरोध गर्दै आएका छन् ।

यसैबीच, शून्य समयमा भाग लिँदै सांसद गणेशकुमार पहाडी र अमृता थापाले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो । सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारबाही गर्न माग गर्नुभयो ।

सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसदहरु आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, कृष्णप्रसाद दहाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू