अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

‘प्रधानमन्त्रीमा शासकीय योग्यता देखिएन’– नेपाली कांग्रेस

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:२० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय योग्यतामाथि प्रश्न उठाएको छ । सरकारको एक वर्षको कामको समीक्षा गर्दै कांग्रेसले यस्तो टिप्पणी गरेको हो । समीक्षामा कांग्रेसले सरकार अलोकप्रिय बन्दै गएको आरोप समेत लगाएको छ ।

सरकारको समीक्षा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनताको विश्वास गुमाएको र सरकार पूर्णतः असफल रहेको बताउनुभयो । भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको , निर्मला पन्तको हत्यारा अहिलेसम्म सार्वजनिक गर्न नसकेको उल्लेख गर्दै कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनमा पनि सरकार चुकेको जनाएको छ । सरकारले सामाजिक सञ्चाल नियन्त्रण गर्ने तयारी सहित प्रेस स्वतन्त्रताको हनन गरेको उसले जनाएको छ ।

कांग्रेसले सरकार अधिनायकवादी शैली प्रस्तुत भएको आरोप पनि लगाएको छ । प्रदेश सरकारलाई सिडियोको छायामा राख्न खोजिएको र सरकारले शक्तिको प्रयोग केन्द्रीकरण गरेको कांग्रेसले जनाएको छ । समिक्षामा भनिएको छ, “सरकारले शक्तिको प्रयोग केन्द्रीकरण गरेको र यो प्रवृत्ति संविधानको वर्खिलाप छ” भनिएको छ । प्रधानमन्त्री केपी ओलीले हलुका अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिमा शासकीय योग्यता नदेखिएको बताएको छ । जरूरी नभएको विषयमा समेत प्रधानमन्त्रीको अभिव्यक्ति आउने गरेकोले कुटनैतिक विषयमा सरकार अलमल भएको कांग्रेसको निष्कर्ष रहेको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने माग समेत गरेको छ । कांग्रेसको समीक्षामा वाइडबडीमा छानबिन पूर्वाग्रही भएको उल्लेख गरिएको छ । कांग्रेसले समीक्षामा काठमाडौ– हेटौडा द्रुतमार्ग निर्माण क्रममा निजगढमा आवश्यक भन्दा बढी रूख काटिएको उल्लेख गरेको छ । मुलुकमा एक वर्षमा २२ दशमलव ८७ प्रतिशत पूजीगत खर्च रहेको र विदशी लगानी ६ दशमलव ७८ प्रतिशत मात्रै भएको समीक्षामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू