अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

जनताको जलविद्युत आयोजना कार्यक्रम सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:२१ मा प्रकाशित

सरकारले जनताको जलविद्युत आयोजना कार्यक्रम सार्वजनिक गरेको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नारा दिइएको यस कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहबाट सुभारम्भ गर्नुभएको हो । कुल १९ आयोजनामा लगानी हुनेगरी सरकारले जनतालाई एक खर्ब दुई अर्ब रुपैयाँ बराबरको सेयर दिने योजना बनाएको छ । ती आयोजनाको कुल क्षमता तीन हजार चार सय ७९ मेगावाट छ ।

कुल ६ खर्ब ९५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यी आयोजनामा ७० प्रतिशत अर्थात चार खर्ब ८७ अर्ब ६करोड रुपैयाँ ऋण लिइने र ३० प्रतिशत अर्थात दुई खर्ब आठ अर्ब ७४ करोड स्वपुँजीबाट जुटाउने लक्ष्य लिइएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । विभिन्न दातृ निकाय, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइने योजना पनि रहेको मन्त्रालयले जनाएको छ ।
स्वपुँजी अन्तर्गत पनि ५१ प्रतिशत अर्थात एक खर्ब ६ अर्ब रुपैयाँ सरकार तथा सरकारी निकायबाट उठाइने योजना छ। जसअन्तर्गत जलविद्युत लगानी तथा विकास कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका कोषबाट सरकारले रकम उठाउनेछ । बाँकी ४९ प्रतिशत अर्थात एक खर्ब दुइ अर्ब सर्वसाधारणबाट उठाइने छ ।

सर्वसाधारणबाट उठाइने रकममध्ये पनि १० प्रतिशत सुरुमै उठाइने छ । उक्त रकमको प्रतिफल नआउन्जेलसम्म आकर्षक व्याज दिने लक्ष्य सरकारले लिएको छ । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष पनि गर्नुभयो । प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभएको हो । नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले आधार तयार पारेको र अबको एकाध बर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय सङ्कल्प पूरा गर्ने लक्ष्यका साथ सबै नेपालीलाई धनी बनाउने योजना अगाडि सारिएको बताउनुभयो । उहाँले वर्तमान सरकारको सङ्कल्पका रुपमा रहेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अवधारणा सामाजिक न्यायसहितको हुने भएकाले त्यसमा यस कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने स्पष्ट पार्नुभयो । ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सबै नेपाली नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ महाभियान शुरु भएको जानकारी दिँदै नेपालको विकासका लागि ऊर्जा क्षेत्रको विकास र त्यसमा जनसहभागिता नै महत्वपूर्ण विषय रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू