अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

थाइ राजाद्वारा प्रधानमन्त्री चुनावमा दिदीको उम्मेदवारीप्रति असन्तुष्टि प्रकट

बिआरटीनेपाल २०७५ माघ २६ गते १:०४ मा प्रकाशित

थाइल्यान्डका राजा वजिरालोङकर्णले आगामी मार्चमा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नी दिदी उबोलरत्नाको अप्रत्यासित दाबेदारीलाई अनुचित भएको बताउनुभएको छ । राजा वजिरालोङकर्णले राजदरबारबाटै एक सन्देश जारी गर्दै आफ्नो दिदीको दाबेदारी देशको संस्कृतिको विरुद्ध भएको बताउनुभएको छ ।

राजाकी दिदी ६७ वर्षीया राजकुमारी उबोलरत्नाले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेपछि राजाले असन्तुष्टि जनाउनुभएको छ । राजदरबारबाट जारी सन्देशमा राजकुमारी उबोलरत्नाले शाही उपाधि छाडे पनि एउटै वंशको सदस्य भएको र त्यस्ता सदस्यले राजनीतिमा आउनु परम्परा र संस्कृतिविरुद्ध हुने भएकाले यो अनुचित हुने उल्लेख छ । सन्देशमा राजपरिवारलाई राजनीतिबाट टाढै राख्नुपर्ने संवैधानिक व्यवस्था भएकोसमेत उल्लेख छ । उबोलरत्ना स्वर्गीय राजा भूमिबोल अतुल्यतेजकी छोरी हुनुहुन्छ ।

यसअघि थाई राजपरिवार राजनीतिबाट टाढा रहँदै आएकोमा राजकुमारीको उम्मेदवारी घोषणाले यो परम्परा टुटेको छ । विश्लेषकहरुले भने राजाको हस्तक्षेप भए आगामी मार्च २४ मा हुने प्रधानमन्त्री निर्वाचनको चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्नसक्ने बताएका छन् । यो निर्वाचनलाई पाँच वर्षको सैन्य शासनपछि थाइल्यान्डमा लोकतन्त्र पुनर्बहालीको अवसरका रुपमा लिइएको छ ।

थाई राक थाई पार्टीका नेता प्रिचापल पोङपानिचले सबै कुरा कानुन अनुसार हुने र उबोलरत्नका लागि विशेष अधिकार र सुविधा नहुने दाबी गरेका छन् । अमेरिकी नागरिकसँग विवाह गरेर डिभोर्स गरेकी उबोलरत्नाले राजपरिवारको उपाधि भने विवाहलगत्तै त्याग्नुभएको थियो । उबोलरत्नको उम्मेदवारीले सन् २०१४ मा सैन्य ‘कु’ मार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई धक्का लाग्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू