अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

चीनको अर्थतन्त्र सुस्त, वृद्धिदर २८ वर्ष यताकै न्यून

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:५६ मा प्रकाशित

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको छ । चीनमा प्रकाशित एक तथ्यांकले ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको उल्लेख गरेको छ ।

राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्यांक विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ ।

अर्थ्विद्हरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् । “वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,” एनबीएसका आयुक्त निङ जिझेले भन्नुभएको छ ।

चिनीयाँ प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनीया अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गर्नुभएको छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाब तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीयाँ राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो ।

दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता सुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनीयाँ उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ । चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ ।

चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ । प्रधानमन्त्री लीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताएका थिए, तर तथ्यांकहरु भिन्न रुपमा देखिएका छन् । गतवर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो । ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको हो ।

ऋण प्रवाहमा भएका कडाइले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०.२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८.२ प्रतिशतको झिनो वृद्धि भएको थियो । कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६.६ प्रतिशतबाट घटी भई गतवर्ष ६.२ प्रतिशत कायम भएको छ ।

विज्ञहरुले चिनीयाँ सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनीयाँ सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । अमेरिकास्थित कन्फरेन्स बोर्डले भने सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६.९ प्रतिशतबाट घटाई ६.८ प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू