अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

प्रदर्शनका क्रममा सुडानमा विपक्षी दलका शीर्ष नेता पक्राउ

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:५७ मा प्रकाशित

सुडानको प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि विपक्षी दलका शीर्ष नेतालाई नै पक्राउ गरेको छ ।मूल्यवृद्धिको विरुद्धमा यही डिसेम्बर १९ देखि सुरु भएको प्रदर्शनकाक्रममा शीर्ष नेतालाई नै पक्राउ गरेपछि प्रदर्शनकारीहरु थप आक्रोशित भएका छन् ।

प्रदर्शनकारीले राजधानी खार्तुमसहित देशभरका विभिन्न ठाँउमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा हजारौं सहभागी भएका छन् । उनीहरुले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । प्रदर्शनकाक्रममा अहिलेसम्म १९ जना मारिएका र अरु हजारौं घाइते भएका प्रदर्शनकारीले जनाएका छन् ।

घटनाकाबारेमा अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न संयुक्त राष्ट्रसंघले पनि शुक्रबार आह्वान गरेको छ । सुडानका सन्चारमन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्नेक्रममा १८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो ।

उत्तर अफ्रिकी राष्ट्र सुडानमा गत साता राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कंग्रेस पार्टी (एनसीपी)को मुख्यालयमा आगजनी गरेपछि कर्फ्युसमेत लगाइएको थियो । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू