अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

जापानले छुट्यायो इतिहासकै सबैभन्दा ठूलो प्रतिरक्षा बजेट

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:२१ मा प्रकाशित

जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्यशक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र ‘स्टील्थ’ लडाकू विमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो ।

अप्रिल २०१९ मा सुरु हुने नयाँ बजेटमा कुल ९१२ अर्ब डलरको वार्षिक बजेटकै एक हिस्सा हो । यो बजेटलाई प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषदले शुक्रबार अनुमोदन गरेको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले प्रतिरक्षा बजेट ४७ अर्ब डलर पुगेको जानकारी दिएका छन् । जापानमा पाँच वर्षदेखि रक्षा बजेट लगातार वृद्धि भइरहेको छ ।

रक्षा अधिकारीहरुकाअनुसार जापानले अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्नेछ । जसमा ६ ओटा ‘एफ–३५ए स्टील्थ’ लडाकू विमानका साथै सामुद्रिक विशाल जहाजहरु रहेका छन् । जापान हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । त्यही योजनाबमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको हो । प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता सुदृढ गर्ने योजनामा निरन्तर लगानी गरिरहेका छन् । मार्च २०२४ सम्मको यस पाँचवर्षे योजनाअन्तर्गत् जापानले आफ्ना दुईओटा हेलिकोप्टर क्यारियरलाई अद्यावधिक गर्नेछ ।

एसिया प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै प्रधानमन्त्री आबेले रक्षा बजेटमा वृद्धि गर्नुको विकल्प नरहेको बताएका छन् । तर, आबेको उक्त कदमको जापानभित्रै पनि विरोध भइरहेको छ । दोस्रो विश्वयुद्धपश्चात् भएको सहमतिविपरीत जापानले आफ्नो सैन्य क्षमता बढाएको भन्दै चीनले आपत्ति जनाएको छ ।

जापानले आफ्नो प्रतिरक्षा नीतिमामात्र ध्यानकेन्द्रित गर्न चीनले आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा पनि जापानले अमेरिकी हतियार खरिद गर्नुपरेको बताइन्छ । अमेरिकाले जापानसँगको व्यापार घाटा ज्यादै बढी भएको गुनासो गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू