अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

चीनको लाङफाङ शहरमा क्रिसमस सामग्री बेच्न प्रतिबन्ध

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:४९ मा प्रकाशित

क्रिश्चियन धर्मालम्बीको चाड क्रिसमस डे आउन अव केही दिन मात्रै बाँकी छ । डिसेम्बर २५ मा मनाइने यो चाडमा शान्ता क्लुजको आकृति बनाएर घर वा पसलमा राखिन्छ। क्रिसमस ट्री राखेर सजावट पनि गरिन्छ।

चीनको एक शहरमा भने यसपालि क्रिसमसमा कुनै किसिमको सजावट गर्न नपाइने गरी प्रतिबन्ध लगाइएको छ। हुबेई प्रान्तको लाङफाङ शहरका अधिकारीहरूले पसलबाट त्यस्ता सबै सामान हटाउन निर्देशन दिएका छन् भने क्रिसमस डेका सजावटका सामान बिक्रीमा प्रतिबन्ध लगाएका छन्।

स्थायीत्व कायम राख्न यस्तो गर्नुपरेको उनीहरूको तर्क छ। लाङफाङको व्यवस्थापनले प्रचार गरेका विज्ञप्तिमा कोही पार्क वा खुला ठाउँमा धर्मको प्रचार गरिरहेको भेटिए प्रहरीलाई खबर गर्न भनिएको छ। तर कुन धर्म भन्ने किटान गरिएको छैन। अधिकारीहरूले प्रतिबन्धित सामान बेचेको भेटिए सजाय भोग्नुपर्ने पनि चेतावनी दिएका छन्।

चीनमा क्रिसमस डेका दिन सार्वजनिक छुट्टी हुँदैन। चिनियाँ कम्युनिष्ट पार्टी आधिकारिक रूपमै भगवानलाई नमान्ने भएकाले कोही पार्टी सदस्यले सार्वजनिक रूपमा क्रिसमस मनाए कार्बाही हुँदै आएको छ।

गत डिसेम्बरमा कम्युनिष्ट पार्टीको युथ लिगका सदस्यलाई क्रिसमससम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने कागजमा हस्ताक्षर गर्न लगाइएको थियो। शनिबारमात्रै प्रहरीले दक्षिण चीनको ग्याङडोङमा बच्चाहरूको बाइबल कक्षामा छापा हानेको थियो।

गत साता बेइजिङको जियोन चर्च र सेप्टेम्बरमा छेङ्दुको एक अर्को चर्च बन्द गराइएको थियो। एकातिर क्रिश्चियनप्रति अनुदार चीनले अर्का्तिर गत वर्ष संसारभरी प्रयोग भएका ६० प्रतिशत क्रिसमस ट्री निर्यात गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू