अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

म्यानमारका प्रधानसेनापति सहित सयौंको फेसबुक एकाउन्ट बन्द

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:३४ मा प्रकाशित

म्यानमारमा सैनिक अधिकारीहरुसँग सम्बन्धित सयौँ फेसबुक एकाउन्ट र पेजहरु फेसबुकले प्रतिबन्ध लगाइदिएको छ । फेसबुकले बताए अनुसार बुधबार ४ सय २५ पेज, १७ वटा ग्रुप, १ सय ३५ वटा एकाउन्ट र १५ वटा ईन्स्टाग्राम एकाउन्ट बन्द भएका छन् । प्रतिबन्धित फेसबुक एकाउन्ट तथा पेजहरु स्वतन्त्र समाचार, मनोरन्जन, सौन्दर्य तथा जीवनशैलीमा आधारित देखिन्थे ।

तर ती फेसबुक एकाउन्टले अल्पसंख्यक रोहिंग्या समुदायविरुद्ध गलत सूचना सम्प्रषण गरेको तथा अफवाह फैलाएपछि ‘अनधिकृत गतिविधिमा फैलाएको’भन्दै फेसबुकले यस्तो कदम चालेको हो ।

यस क्रममा यहाँका प्रधान सेनापति मीन अङ्ग ह्लइङ सहित थुप्रै सैनिक अधिकारीहरुको फेसबुक पेज तथा एकाउन्ट प्रतिबन्धमा परेको छ । संयुक्त राष्ट्रसंघले हालै म्यानमारमा अल्पसंख्यक रोहिंग्या समुदायमाथि दमन गर्दै युद्ध अपराध गरेको अभियोगसहित यहाँको सेनामाथि गम्भीर आरोप लगाएपछि फेसबुकले उनीहरुमाथि फेसबुकमा प्रतिबन्ध नै लगाएको हो ।

गत वर्ष म्यानमारमा २५ हजार मारिनुका साथै ७ लाख भन्दा बढीलाई बलपूर्वक बंगलादेश लखेट्नुमा यहाँको सैनिक मुख्य दोषी रहेको टिप्पणी हुँदै आएको छ । यस क्रममा सामाजिक संजालमा अल्पसंख्यक समुदायविरुद्ध आतंक नै मच्चाइएको संयुक्त राष्ट्रसंघको रिपोर्ट आएको थियो ।
म्यानमारको उत्तरी क्षेत्र राखिन राज्यमा रोहिंग्या समुदायमाथि भएको हमला तथा मानवताविरोधी अपराधमा सेना प्रमुख मीन अङ्ग ह्लइङ सहित उच्च अधिकारीमाथि छानविन गर्नुपर्ने भन्दै रिपोर्ट सार्वजनिक भएको थियो । सरकारी अधिकारीहरुले भने फेसबुकसँग आफूहरुले यसबारे कुरा गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू