अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

आफ्नो पदीय गरिमाको हेक्का राख्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:३३ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री ओलीको आपत्तिजनक बोलीबारे आपत्ति जनाएको हो । आइएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सह–आयोजन एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको विवादास्पद सन्दर्भप्रति सार्वजनिक रुपमा उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले चेतावनीको शैलीमा जवाफ दिनुभएको थियो ।

गत बुधबार नेपाल टेलिभिजनको एक संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा ‘आफूले जवाफ दिए वुद्धिजीवि थला पर्ने’ अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो ।सो अभिव्यक्तिलाई कांग्रेसले संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शव्द, भावना र मर्म विरुद्ध भएको जनाएको छ ।

साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई आफ्नो पदीय गरिमा विपरित नबोल्न चेतावनी समेत दिएको छ । यस्तै बैठकले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको माग गरी बिजुलीका पोलमा टाँसिएका पन्तका तस्बिरहरु च्यातिएको घटनामा पनि आपत्ति जनाएको छ ।

सो घटनालाई कांग्रेसले विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधान प्रदत्त अधिकारमाथिको हस्तक्षेप ठहर गरेको छ । निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने हो भने नेपाली कांग्रेसले यहि मुद्दालाई लिएर कडा संघर्षका कार्यक्रम गर्ने कांग्रेसले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू