अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

राजदूत लक्की शेर्पामाथि सरकारको ‘एक्सन’

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:२८ मा प्रकाशित

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान थालेको छ । मानव तस्कारमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि परराष्ट्र मन्त्रालयले अनुसन्धान सुरु भएको हो । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउने तयारी भएको हो । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारले राजदूतमाथि अनुसन्धान थालेको बताउनुभएको छ ।

ज्ञवालीले भन्नुभएको छ , ‘अहिले हामी अनुसन्धानमै छौं । राजदूतसँग सोधपुछ गर्ने तयारी गरेका छौं ।’ नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको थियो । चालक शेर्पाले लक्की र उहाँका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका थिए । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ ।

त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको उनको भनाइ छ । त्यस्तै नेपाली कांग्रेसले पनि राजदूत शेर्पामाथि अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । मानव तस्करीको आरोप लागेपछि राजदूत शेर्पालाई फिर्ता बोलाउनुपर्ने नेकपामाथि नैतिक दबाब बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू