अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

मेक्सिकोका राष्ट्रपतिद्धारा आफुले चढ्ने बिमान बेच्ने घोषणा

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:४० मा प्रकाशित

आइतबारमात्र राष्ट्रपतिको पद सम्हालेका मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिले चढ्दै आएको हवाइजहाज बेचेर व्यापारिक उडानमा यात्रा गर्ने घोषणा गर्नुभएको छ । ‘म राष्ट्रपतिको जहाज चढ्ने छैन । त्यो जहाज चढ्नु मेरा लागि अप्ठेरो हुनेछ । यति धेरै गरिबी भएको देशमा यदि म त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहार लाजले भरिनेछ,’ गत सेप्टेम्बरमा ओब्राडोर भन्नुभएको थियो ।

पछिल्लो समय उहाँले आफ्नो वचन राख्नुभएको छ । आइतबार राष्ट्रपतिको सपथ लिएपछि उनीहाँ मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा देखिनुभयो । भेराक्रुज जान हिँडेका उहाँ अरू यात्रुजस्तै गरी सामान्य जहाज चढ्नुभयो र झ्लालपट्टिको सिटमा बस्नुभयो ।

राष्ट्रपतिको घोषणा संगै ६ वर्षअघि राष्ट्रपतिका लागि किनिएको बोइङ ७८७–८ ड्रिमलाइनर जहाज अमेरिकाको क्यालिफोर्निया लगिएको छ र त्यहाँ जहाजको केही मर्मत सम्भार गर्नुपर्ने भए गरेर मूल्य निर्धारण गरी बेच्ने प्रक्रिया सुरू हुनेछ । सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ खर्चेर राष्ट्रपतिका लागि उक्त जहाज किनिएको थियो ।

राष्ट्रपतिको जहाजसँगै संघीय सरकारका नाममा भएका ६० जहाज र ७० वटा हेलिकप्टर पनि बेच्न लागिएको मेक्सिकोका अधिकारीहरूले जानकारी दिएका छन् । भ्रष्टाचार विरूद्ध लड्ने नारा दिएका ओब्राडोरले गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा भारी मत प्राप्त गर्नुभएको थियो । आइतबार भएको सपथ समारोहमा उहाँले आफू राष्ट्रपतिको दरबारमा नबस्ने र तलबको पनि ४० प्रतिशतमात्र लिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू