अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 11:57

अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा मानव तस्करीमा संलग्न रहेको खुलासा, फरार अभियुक्तले वदनाम गर्न खोजेको राजदूतावासको ठहर

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:३३ मा प्रकाशित

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानव तस्करीमा संलग्न रहेको खुलासा भएको छ । शेर्पा अपराधमा संलग्न भएको तथ्य सार्वजनिक भएसंगै उहाँलाई लाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेकपाभित्रैबाट दबाब बढेको छ । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउनुपर्ने आवाज उठेको हो ।

नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको छ । चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका छन् । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ ।

त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको उनको भनाइ छ । यसैबीच नेकपाका युवा नेताद्वय विष्णु रिजाल र युवराज चौलागाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत कूटनीतिक मर्यादाविपरीत मानवतस्करीजस्तो गम्भीर आरोप लागेकी राजदूत शेर्पालाई बर्खास्त गरी स्वदेश फर्काउन माग गर्नुभएको छ ।

रिजाल तत्कालिन नेकपा एमालेका प्रचार विभाग सचिव र चौलागाईं तत्कालिन माओवादी केन्द्रका विदेश विभाग सचिव हुनुहुन्छ । दुवै नेता हाल केन्द्रीय सदस्य हुनुहुन्छ । तत्कालिन एमालेबाट संविधानसभा सदस्य भएकी शेर्पा पछि माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो । शेर्पा माओवादी केन्द्रको कोटामा राजदूत बन्नुभएको थियो ।

नेता रिजालले शेर्पामाथि उनकै सहयोगीले मानव तस्करी जस्तो संगीन आरोप लगाएको उल्लेख गर्दै कुटनीतिक क्षेत्रसँग पूर्णतः असम्बन्धित उनलाई त के मतलब तर यस घटनाले देशलाई कुटनीतिक बृत्तमा लज्जित बनाएको उल्लेख गर्नुभएको छ । रिजालले राजदूत शेर्पालाई तुरून्त बर्खास्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारीलागायत राजदूत बर्खास्तीमा परेको सन्दर्भ समेत रिजालले उठाउनुभएको छ ।
चौलागाईंले पनि मुलुकको दूतको भूमिकामा रहेकी शेर्पामाथि मानव तस्करीको संगीन आरोप लागेको र त्यसबाट अन्तर्रा्ष्ट्रिय समुदायसामु मुलुकको शीर झुकेको उल्लेख गर्नुभएको छ । उहाँले नेकपाको समेत सिफारिसमा त्यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको व्यक्तिबाट त्यसखालको आपत्तिजनक काम भएको सुन्दा आफूहरु लज्जित भएको उल्लेख गर्नुभयो । नेकपा र सरकारले यस परिघटनालाई अत्यन्त गम्भीरता पूर्वक लिई छानबिन गर्नु पर्ने र पदीय दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्नुपर्ने चौलागाईंको माग थियो ।

यसैवीच, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाविरुद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झूटा आरोप लगाएर बदनाम गर्न खोजेकोमा नेपाली राजदूतावासले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उहाँको परिवारविरूद्ध झूटा आरोप लगाएर बदनाम गर्न खोजेको जनाएको छ।
सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासबाट बहुमूल्य सामान चोरेर फरार रहेका वाङ्छु शेर्पाले नेपालबाट प्रशारण हुने एक टेलिभिजनमार्फत् राजदूत र उहाँका परिवारलाई मानव ओसार पसारमा संलग्न रहेको आरोप लगाएका थिए ।

राजदूतावासमा कार्यरत वाङ्छु सामान चोरेर भागेपछि नेपाल सरकार र परराष्ट्र अनि अस्ट्रेलियाको सम्बन्धित निकायमा पनि धेरै पहिले अवगत गराएपछि उनको खोजी कार्य भैरहेको नेपाली राजदूतावासले जनाएको छ । निज वाङ्छुले सिंगापुरमा पनि केही व्यक्तिलाई ठगी गरेको र नेपालमै पनि लेनदेनमा बदमासी गरेको आरोप लागेको थियो ।

हाल अस्ट्रेलियामै रहेका वाङ्छुले अदालती प्रकृयालाई नै प्रभावित गर्नेगरी र राजदूत अनि उहाको परिवारको छवि घमिल्याउने उद्धेश्यले भ्रामक र कपोकल्पित बयान सार्वजनिक गरेकोमा दूतावासले सर्वसाधारण नेपालीलाई भ्रममा नपर्न आह्वान गरेको छ ।

नेपालमा न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा वाङ्छुले भिडियो कलमार्फत् राजदूतले गलत नियतले काम गरिरहेको र आफू त्यसको शिकार भएको भन्दै आफ्ना एकतर्फी कुरा राखेका थिए । एउटा फटाहा बदमासले भन्दैमा कुनै कुरामा पनि सत्य नहुने र आफैं फरार अभियुक्तका रूपमा लुकीलुकी हिँड्नेले लगाएको आरोपमा कुनै सत्यता नरहेको राजदूत शेर्पाले प्रतिक्रिया दिनुभएको छ । राजदूतावासले धेरै अघि नै शेर्पाको बदमासीबारे जानकारी गराएर कारबाहीको लागि पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू