अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

भुटानमा पुराना पार्टी हराउँदै नयाँ पार्टी भारी बहुमतसहित विजयी, ५० वर्षीय चिकित्सक प्रधानमन्त्री बन्दै

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ८:०४ मा प्रकाशित

भुटानमा हालै सम्पन्न आम निर्वाचनमा एक चिकित्सकले नेतृत्व गरेको नयाँ पार्टीले भारी बहुमतसहित विजय प्राप्त गरेको छ । चिकित्सक लोते छिरिङले नेतृत्व गरेको ड्रुक न्यामरुप सोङ्पा (डिएनटी)ले नेसनल एसेम्ब्लिका लागि निर्वाचन भएका ४७ सिटमध्ये ३० सिटमा विजय प्राप्त गरेको छ ।

शुक्रबार भुटानको निर्वाचन आयोगले मत परिणाम घोषणा गरेसँगै तेस्रो निर्वाचनपछि भुटानमा तेस्रो पार्टीले सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ । भुटानी राजाले सन् २००८ मा संवैधानिक राजतन्त्र अन्तरगत बहुदलीय व्यवस्थाको घोषणा गरेपछि त्यहाँ मतदाताले निर्वाचनमार्फत सरकार चुन्न थाल्नुभएको हो । सन् २००८ को पहिलो निर्वाचनमा भुटानी राजदरबार नजिक रहेको ड्रुक फुनसुम सोङ्पा (डिपिटी) निर्वाचत भएको थियो ।

सन् २०१३ मा भएको दोस्रो निर्वाचनमा सो पार्टीलाई हराउदै छिरिङ तोग्वे नेतृत्वको पिपुल्स डेमोक्राटिक पार्टी (पिडिपी) ले बहुमत प्राप्त गरेको थियो । तोग्वेले पाँच वर्ष सरकारको नेतृत्व गरेपनि यसपालि भने तोग्वेको पार्टी पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

भुटानमा अधिकांश संसदीय लोकतन्त्रभन्दा फरक चुनाव प्रणाली छ । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई पार्टीले मात्र दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँछन् । तिनै दुई पार्टी मध्ये एउटाले सरकार बनाउँछ, अर्कोले प्रतिपक्षीको भूमिका निभाउँछ ।

बंगलादेश र अष्ट्रेलियामा मेडिसिन पढ्नुभएका ५० वर्षीय युरोलोजी सर्जन छिरिङले आफु नेतृत्वको पार्टी निर्वाचनमा विजयी भएलगत्तै उच्च विदेशी ऋण, युवा बेरोजगारी, ग्रामीण गरिबी र आपराधिक समूहहरुका विरुद्ध लड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू