अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

क्यानडामा आमाबुबाहरूलाई बोलाउने भिसा खुल्दै

बिआरटीनेपाल २०७५ कार्तिक १ गते १२:२९ मा प्रकाशित

क्यानडालाई बहुभाषी सांस्कृतिक देश पनि भनिन्छ । विश्वका प्रायः सबै राष्ट्र तथा प्रान्तबाट आएर क्यानडालाई आफ्नो कर्म भूमि बनाएर बस्नेहरूको सङ्ख्या यहाँको रैथानेभन्दा बढी छन् । आफ्नो जन्मथलो छोडेर क्यानडालाई कर्म थालो बनाएका आप्रवासीहरूले आफ्नो परिवारलाई पनि त्यही अनुरूपको जीवन शैली दिएका हुन्छन् । त्यसका अतिरिक्त क्यानडा आएपछि आफूलाई जन्माएर योग्य नागरिक बनाउने आफ्ना आमाबुबासँगै आफ्ना हजुरआमाबुवालाई पनि आफूसँगै परिवारमा राख्ने परम्परागत प्रचलनलाई पनि क्यानडा सरकारले महत्त्व दिँदै आएको छ । लिबरल पार्टीबाट सुरु भएको क्यानडाको आप्रवासी नीतिलाई केन्द्रमा लिबरल पार्टीको सरकार आएपछि फेरी निरन्तरता दिँदै आएको छ । आठ वर्षको कन्जर्भेटिभ पार्टीको सरकारले रोक लगाएको आमाबुबा तथा हजुरआमा बुबाहरूलाई स्पोन्सर गर्ने प्रक्रिया लिबरल पार्टीको सरकार बन्नै बित्तिकै आमाबुबा तथा हजुरआमा बुबाहरूलाई क्यानडा बोलाएर आफैसँगै राख्न पाउनका लागि स्पोन्सर गर्न प्रक्रिया फेरी सुरु भएको छ ।

तर सन् २००६ मा प्रोग्रेसिव कन्जर्वेटिभ पार्टीले चुनाव जितेर कन्जर्वेटिभ पार्टीले सत्तामा आउनासाथ आमाबुबा तथा हजुरआमा बुबाहरूको स्पोन्सर गर्ने प्रक्रियाको अन्त्य गर्ने घोषणा गरेपछि आमाबुबा तथा हजुरआमा बुबाहरूलाई बोलाउन सुपरभिषा प्रक्रिया सुरु गरेको थियो । यस प्रक्रिया अनुसार आफ्ना आमाबुबा तथा हजुरआमा बुबाहरूलाई क्यानडा बोलाउनु परे सुपरभिषा अन्तर्गत १० वर्षको भिसा लिएर एकपटकमा दुई वर्षसम्म आफूसँग राख्न पाउने तर क्यानडा आउनअघि उनीहरूको स्वास्थ्य बिमा अनिवार्य हुनु पर्ने हुन्थ्यो । यो प्रक्रिया अहिलेसम्म पनि लागुनै छ । यसरी आफूलाई जन्माएर हुर्काई बढाई पढाई यहाँसम्म पुर्‍याउने आफ्ना प्रियजनलाई आफूसँग स्थाई रूपमा राख्न नपाउने प्रक्रियाको विरोध भई रहेको थियो । सरकारलाई आफूले कमाएको लगभग ४०–४५ प्रतिशत कर दिँदै आएका करदाता क्यानेडियनले आफ्नै प्रियजनलाई बुढेसकालमा आफूसँग राखेर सेवा गर्न पाइरहेका थिएनन् ।

तर सन् २०१५ मा चुनाव जितेर लिबरल पार्टीको सरकार बन्ने बित्तिकै आमाबुबा तथा हजुरआमा बुबाहरूलाई स्पोन्सर गरेर आफैसँग राख्न पाउने व्यवस्था फेरी सुरु भएको छ । सरकारले प्रारम्भका दुई वर्षमा वार्षिक दस हजार आवेदन चिट्ठा प्रक्रियाबाट आव्हान गरेको थियो । यसमा आवेदन बुझाएकाहरूबाट प्रत्येक वर्ष दस हजार आवेदक चिट्ठाबाट निकालेर स्पोसरका अन्य प्रक्रियाहरू पुरा गर्नु पर्ने हुन्छ । यसरी क्यानडा आउने आमाबुबा तथा हजुरआमा बुबाहरूले नियमानुसार यहाँको निःशुल्क स्वास्थ्य सेवा पाउने गर्दछन् । यो निःशुल्क स्वस्थ सेवा पाउने नै ठुलो सहयोग हो भने आय आर्जन नगरेका जेष्ठ नागरिकलाई सरकारले निःशुल्क औषधि पनि उपलब्ध गराउने गर्दछ। यसलाई आप्रवासीहरूको अधिकारको रूपमा लिने गरिन्छ । तर कन्जर्वेटिभको सरकारले आमाबुबा तथा हजुरआमा बुबाहरूलाई पनि भिजीटर भिसा प्रक्रिया अन्तर्गत राखेरआफैले उनीहरूको स्वास्थ्य उपचारको जिम्मा लिनु पर्ने व्यवस्था बनाएको थियो । तर लिबरल पार्टीले पुनः आमाबुबाहरूलाई स्थाई बासिन्दा (पी.आर) का रूपमा स्पोन्सर गरेर आफूसँगै यहाँका बासिन्दाले पाउँदै आएको स्वास्थ्य सेवासहीतको बासिन्दाका रूपमा राख्न सकिने प्रक्रिया सुरु गरेको छ । जसलाई लिबरल पार्टीले पुनः स्थाई बासिन्दाका रूपमा राख्न पाउने गरी आमाबुबा तथा हजुरआमा बुबाहरूको स्पोन्सरसिपलाई अझ सहज बनाउँदै गएको छ ।

यस वर्षदेखि सरकारले चिट्ठा प्रक्रियाको सट्टा आवेदन जसले पहिला बुझाउँछ उसले पहिलो प्राथमिकता पाउने गरी नयाँ प्रक्रिया सुरु गरेको छ । यस वर्ष अर्थात् २०१९ मा सरकारले २१,५०० आमाबुबा तथा हजुरआमा बुबाहरूका लागि ढोका खोली दिने भएको छ । गत वर्ष सत्र हजार आवेदकहरूले आफ्ना आमाबुबा तथा हजुरआमाबुवाहरु बोलाउने मौका पाएका थिए । इच्छुक आवेदकले स्पोन्सरको आवेदन अन लाइन भरेर बुझाउनु पर्छ । ईमिग्रेसन विभागले प्राप्त आवेदनबाट स्पोन्सर प्रक्रिया अनुरूप मेल खाने आवेदकलाई स्पोन्सरका अन्य आवेदन प्रक्रियाहरू पुरा गर्न सम्पर्क गर्ने छन् । यसरी आवेदन गर्नका लागि ईमिग्रेसन क्यानडाले २०१८ डिसेम्बर ३१ तारिखको राती १२ बजेपछि आफ्नो आधिकारिक वेभ साइट सिआईसि.जिसी.सिए. मा आवेदन फारम भर्न आव्हान गर्ने छ । यसमा पहिलो आउनेले पहिलो प्राथमिकता पाउने छन् भन्ने जानकारी क्यानडाका आप्रवास तथा नागरिक मन्त्री अहमद हँुसैनले ईमिग्रेसन विभाग मार्फत जानकारी गराएका छन् । त्यसैले यस पटक डिसेम्बर ३१ को राती नयाँ वर्षको आगमनको प्रतीक्षामा रमाउने कि आफ्ना प्रियजनक लागि फारम भरेर उनीहरूको आगमनको प्रतीक्षामा बस्ने, दोधारमा छन् धेरै जना । (क्यान इन्डिया न्युज)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू