अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

विकिलिक्सका संस्थापक जुलियन असान्जको सञ्चार आंशिक खुला

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:३२ मा प्रकाशित

इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिकरुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ । विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन् । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

“इक्वेडरले विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि बाह्य सञ्चारमा गरेको प्रतिबन्ध राष्ट्रसङ्घका दुइजना वरिष्ट अधिकारी र इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोबीच शुक्रबार भएको भेटवार्तापछि हटाउने निर्णय भएको हो,” विकिलिक्सले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।

विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन ह्राफसोनले उक्त कदम सकारात्मक रहेको बताउनुभयो । उहाँले अझै पनि असान्जको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरिएकामा गम्भीर चासो व्यक्त गर्नुभयो । इक्वेडरले विद्युतीय इमेल प्राप्त गर्नबाट रोक्न ज्यामर उपकरण राजदूतावासमा जडान गरेको थियो भने भेटघाटका लागि आउने व्यक्तिलाई भेट्न कडाई गरेको थियो ।
सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले असान्जलाई स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै उहाँलाई इक्वेडरको राजदूतावासले शरण दिएको थियो । उहाँमाथि स्वीडेनमा यौन शोषणको आरोप लागेको छ । असान्जले यौन शोषणको आरोप राजनीतिक प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ ।

सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सञ्चारको प्रकाशन गरेका कारण असान्जलाई स्वीडेनले संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने असान्जको ठम्याइ छ । स्वीडेनको गत वर्ष आफ्नो अनुसन्धान स्थगित गरेको थियो, तर बेलायती अधिकारीले असान्जलाई गिरफ्तार गर्ने जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू