अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

निर्मला पन्त बलात्कार-हत्या प्रकरण- २६ प्रहरीमाथि सूक्ष्म छानबिन

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:२५ मा प्रकाशित

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको छानबिन समितिले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी अधिकृत र कर्मचारीमाथि सूक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सूक्ष्म अध्ययन गरिहेको जनाईएको छ ।

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका कञ्चनपुरका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको हो । शनिवार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले छानबिन टोली २४ सै घण्टा अनुसन्धानमा खटिएको वताउनुभयो ।

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबै पक्षसँग आग्रहसमेत गर्नुभएको छ । टोलीले कञ्चनपुर पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत भेट गरेको छ । त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरबाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारबाहीको माग समेत गरिएको छ ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू