अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

कुर्सी (छोटो कथा)

लीलाराज दाहाल २०७५ असोज २१ गते १३:२१ मा प्रकाशित

छोटो कथा

साहित्यकार हुतराज शर्माको नाम अगाडि कवि, कथाकार, नाटककार, उपन्यासकार, निबन्धकार र कोशकार जोडिन थालेको त धेरै भैसकेको थियो । अव भने ती उपाधिका अगाडि वरिष्ठ शब्द समेत थपिन थालेको थियो ।

उनले सके कुलपति , उपकुलपति नसके पनि प्राज्ञ सम्म त हुन्छु भन्ने नै सोचेका थिए तापनि उमेरले पैँसट्ठी वर्षको लामो तगारो नाघिसक्दा समेत त्यो पद प्राप्त गर्नबाट उनी पूर्णरुपमा वञ्चित भइरहेका थिए । यो उमेर सम्म उनको सपना पुरा हुन नसकेकाले उनी अचेल बेचैनीको लौरो टेकेर यताउता घुम्न थालेका थिए । उनको हृदयमा पिडाका काँडाले बेस्सरी घोचिरहन्थे । त्यसैले अव उनको लेखाइको प्रवाह पनि दिनानुदिन घटिरहेको थियो ।

उनको मनको चुरेबाट निसृत दुखको खहरे घट्नुका सट्टा झन् झन् बढिरहेको थियो । उनको यो अवस्था उनका परिवारजन, छर छिमेकबाट छिपेको थिएन ।

अलिअलि राजनीति, अलिअलि ठेक्का पट्टा गर्ने उनका भतिज गोकर्ण आएर नजिकै बसी उनको अनुहारमा सल्बलाई रहेको वेदनाको लहर अवलोकन गर्दै भने, “हैन काका, के भयो अचेल तपाईँलाई ? तपाईँको अनुहारभरि उदासीको छाया मात्रै देख्छु । यत्रो ठुलो साहित्यकार भएर पनि किन दुखी ?”

साहित्यकार हुतराजले पिर्लिक्क आँखा पल्टाएर भतिजको अनुहारमा हेरे अनि मलिन स्वरमा भने, “यो सरकारले पनि मलाई प्राज्ञ नबनाउने भयो । कुलपति , उपकुलपति त दिएनन् दिएनन् । जाबो प्राज्ञ सम्म पनि नदिने भए । यही हो मेरो दुखको कारण ।”

काकाको कुरा सुनेर मुसुक्क हाँसे भतिज गोकर्ण शर्मा । उनले काकालाई नियाल्दै भने, “ ए, उसो भए लेखेर मात्रै, विद्वान भएर मात्रै प्राज्ञ पाइन्छ भन्ने ठान्नु भएको तपाईँले ? त्यस्तो लेख्ने, विद्वान, पढेलेखेका मान्छे त कति छन् कति नेपालमा ? तपाईँ त इमान्दारिता र नैतिकताको पो कुरा गर्नु हुन्छ त ? तपाईँ कति पुरातनवादी ? अहिले त जुनसुकै क्षेत्रमा जानलाई पनि नैतिकता, विद्वता र इमान्दारिताले मात्रै पुग्दैन काका । कुनै न कुनै पार्टीको झन्डा बोक्नै पर्छ । पार्टीलाई चन्दा दिनै पर्छ । बुझ्नु भो त काका ? तपैको यस्तै चालले पाउनु भो प्राज्ञ ? बरु बेलैमा बुद्धि पुर्याउनुस है । यो सरकार ढल्दैछ छिट्टै ।”

भतिज गोकर्ण शर्माले काका हुतराजको अनुहार नियाले र पुन भन्न थाले, “अर्को पार्टीको नेतृत्वमा सरकार बन्ला जस्तो छ । साँच्चै , तपाईँको कुरा चलाऊँ त काका ? सके कुलपति, नभए नि उपकुलपति त पक्का ।”

भतिजका कुराले उनको अनुहार उज्यालो भयो । हुतराजले आशामुखी नजरले भतिज गोकर्णलाई हेर्दै भने, “कसरी नि भतिज ?”

भतिजले उपाय सुझाए, “त्यसको लागि तपाईँले त्यो पार्टीको सदस्यता लिनु पर्छ अनि पार्टीलाई सके जति चन्दा दिनु पर्छ । चलाऊँ त कुरा ?”

भतिज गोकर्णका कुराले साहित्यकार हुतराजको हृदयको तापक्रम बढ्न थाल्यो । उनको अनुहारबाट चिटचिट पसिना निस्कन थाल्यो । एक छिन पछि उनी बिस्तारै समालिए ।

“नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने काँन्छा बाबुको अनुहार भनेको यही रहेछ । भतिजको सल्लाह अनुसार कुलपतिको पद हत्याऊँ भने आफ्नै स्वाभिमान र आत्मसम्मानको घाँटी निमोठिने, नखाऊँ भने जिन्दगीभरिको सपना अधुरै रहने ।”

उनको मनमा यस्तै यस्तै तर्कनाहरु आइरहे । गइरहे । उनले केही पनि निर्णय गर्न सकेनन् । मनभरि विभिन्न कुरा खेलाएर छटपटीको ओछ्यानमा अनिदो भई पुरै रात बिताए ।

प्राज्ञको कुर्सीले उनलाई कयौँ रात निदाउन दिएन ।

 

बागमती ११ ,कर्मैया ,सर्लाही ।