अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न

बिआरटीनेपाल २०७५ असोज १४ गते १४:१७ मा प्रकाशित

भक्तपुर,  विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलवार रातिबाट सुरु भई गए राति गुरुहरूको टोलमा प्रदर्शन गरी नाच सम्पन्न गरिएको हो । 

महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले सञ्चालनमा ल्याएको नाच मध्यपुरथिमि–५ भुँलाखेलस्थित नृत्यनाथ मन्दिरबाट सुरु भई हरेक रात टोलटोलमा गएर प्रदर्शन गरिएको थियो ।

समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले भन्नुभयो, “पूर्णिमादेखि राति राति सञ्चालन भएको यो नाच अब हरेक वर्ष सञ्चालनमा ल्याउँछौँ, यो नाच हरेक दिन साँझ ६ बजेपछि नृत्यनाथलाई समर्पित गर्दै थिमिका टोल टोल, चोकचोकमा नचाइएको थियो ।” नाच दथुटोल, दिगुटोल, गँगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोल परिक्रमा गरी बालकुमारी पु¥याइएको थियो ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गोरेपछिको विजयोत्सवका रूपमा यो नाच नौ देखि १३ तालमा नाचिने बताउनुभयो । उहाँले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाचलाई जोगाउन सजिलो भएको बताउनुभयो ।

यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरू नाचको तालसँग मिल्दैन । नाचमा देवी एक, महालक्ष्मी एक, बेताल चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्या दुई, माक दुई गरी १५ जनाले विभिन्न देवीदेवताको रूपमा नाच्ने गरेको उहाँले बताउनुभयो ।

बाजाको तालसँगै विभिन्न स्वरूपमा नाचिने यो नाचमा देवी र दानवको युद्धलाई समेत चित्रण गरिएको बताउँदै गुरु श्रेष्ठले लगातार १३ तालमा नाच्दा रात बित्ने भएकाले सबै टोलमा सबै तालमा नचाउन भने नसकिने जानकारी दिनुभयो ।

परापूर्वकालमा यो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरूपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै अर्का गुरु हीराकाजी लामा श्रेष्ठले देवताका रूपमा नाच्नेहरूमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउनुभयो ।

समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचको मुकुटहरू लुगाहरू आवश्यक सामग्रीहरू किनेको र नाचमा करिब रु आठ लाख खर्च लागेको बताउनुभयो । (रासस) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू