अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

वास्तविक धनी मान्छे !

देव भट्टराई २०७५ असोज ५ गते १२:३१ मा प्रकाशित

छन्द -शार्दूलविक्रीडित

यो धर्ती अनि यो अनन्त र खुला आकाश अग्लो अति
तारा सूर्य र चन्द्रमा ग्रहहरू ब्रम्हाण्डमा छन् जति
मेरै हुन् जड यी वृहस्पति र यी प्राणी हजारौंथरि
मैमा छन् सब यी मबाट कहिल्यै छुट्टिन्न केही गरी !

मन्त्री उच्च पदस्थ राष्ट्रपति वा राजा र रानीहरू
पृथ्वीमा जति छन् गरीब भनिने जोगी भिखारीहरू
मेरो दृष्टि अगाडि यी सब जना सामान्य छन् उत्तिकै
यो आत्मा सबमा समान छ ‘म’को अस्तित्व मै जत्तिकै

अग्ला सुन्दर बंगला महल होस् लाखौँ बनाओस् घर
मान्छे सुत्दछ सात आठ फुटको ओछ्यानमा आखिर
मान्छे भर्छ त एक पेट जतिनै भारी थुपारोस् धन
अर्काको पनि भाग खोस्छ तर ऊ बन्दै महादुर्जन

मेरो शान्ति कहाँ छ अन्तिम भनी खोज्दैन मान्छे किन ?
मान्छे शास्त्र त पढ्छ किन्तु किन हो जान्दैन शिक्षा लिन ?
ज्ञानी गौतम बुद्ध जङ्गल पसे छोडेर राजा हुन !
त्यस्मा के छ रहस्य बुझ्न अझ लौ खोज्दैन मान्छे किन ?

केही अन्तर छैन खास उसको तिम्रो र मेरो ‘म’मा
धागो केवल एउटै छ बलियो यो स्थूल संसारमा
जस्ले शाश्वत यो अखण्डित ‘म’ को बिस्तारलाई चिने
मान्छेबाट उठेर ती नरहरू ज्ञानी महात्मा बने

कविता