अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

कुमान्छेको महिमा

देव भट्टराई २०७७ असोज १४ गते २०:२२ मा प्रकाशित
कविता –

मान्छे भई पशुवृत्ति धारण गरी ज्यूँछन् जहाँ जो जति
लेखेँ यो गुणगान काव्य तिनकै झन् झन् तिखारी मति
थाप्लोमा सिङ छैन तैपनि यसै खेल्छन् सिंगौरी अति
जुध्छन् आपसमा मनुष्य बिचरा गाह्रो हुँदो हो कति !

छाडा बाँदरतुल्य जीवन अहो ज्यूने कला धन्य छ
लामो पुच्छर ढाड तल्तिर अझै उम्रिन्न आश्चर्य छ
मान्छे भईकन गर्दछन् जति जहाँ बिच्छी हुने कोसिस
दोहोरो गुण धर्मवाहक बडा ती धन्य छन् मानिस !

मान्छे भई व्यवहार तुच्छ पशुको जो गर्न सक्छन् यहाँ
त्यस्ताको पहिचान होस् अनि मिलोस् सम्मान संसारमा
मान्छे जन्तु समान बन्नु बलियो दाह्रा र नङ्ग्राविना
यस्तो मुस्किल कामको त कविता लेखेर नै सक्दिन

मान्छे भईकन बाघ भालु चितुवा बन्ने कला धन्य छ
त्यस्ताको अपमान हुन्छ किन हो यैचाहिँ आश्चर्य छ !
नेता छन् कति देशमा त अझ लौ कस्ता कुमान्छे पनि
त्यस्ताको महिमा म गाउन सकूँ लेखी महान् जीवनी