अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

तिम्रो र मेरो खुसी

देव भट्टराई २०७९ जेठ १४ गते १४:४८ मा प्रकाशित

कविता:

मेरै जीवनको हिसाब नबुझी आफैँ म हैरान छु
तिम्रो जीवनको हिसाब त अहो बुझ्नै नसक्ने म छु
धर्की रोइरहेछु हाँस्न नसकी आफैँ म हैरान छु
तिम्रो आँसु पुछूँ कठै नि कसरी पुछ्नै नसक्ने म छु

यो मेरै मन बुझ्न कत्ति नसकी आफैँ म हैरान छु
त्यो तिम्रो मन बुझ्न सक्नु कसरी बुझ्नै नसक्ने म छु
आफ्नै चञ्चल चित्त थाम्न नसकी आफैँ म हैरान छु
तिम्रो चञ्चल चित्त थाम्नु कसरी थाम्नै नसक्ने म छु

आफ्नै मार्ग त ठिक चुन्न नसकी आफैँ म हैरान छु
यो हो मार्ग तिमी यता हिँड भनी भन्नै नसक्ने म छु
यात्रामा छु परन्तु बिच पथमै थाकेर हैरान छु
तिम्रो बोझ म बोक्न सक्छु कसरी बोक्नै नसक्ने म छु

लाग्दा प्यास नभेटिँदा जल कतै आफैँ म हैरान छु
तिम्रो प्यास बुझाउँला नि कसरी कस्तो दशामा म छु
स्वार्थी छैन र को समस्त जन छन् स्वार्थी तिमी मै पनि
स्वार्थी छौँ सब फेरि कोसित कहाँ के को गुनासो त नि ?

‘राम्री छैन सुनाखरी’ कति भन्यौ माया छ उस्कै ममा
‘राम्रो छैन गुलाब’ भन्छु म तिमी लिन्छ्यौ त्यही हातमा
गुर्दौलीसित मस्किएर खुस भई हाँस्दा म रुन्छ्यौ तिमी
मेरो रुन्छ मनै पलाँस अति नै हिस्सी छ भन्छ्यौ तिमी

जे गर्दा दिलदेखि हुन्छु म खुसी त्यै गर्छु मैँले अनि
जे गर्दा सुख शान्ति मिल्दछ त्यही गर्छ्यौ तिमीले पनि
आआफ्नै त रहेछ आखिर खुसी तिम्रो र मेरो पनि
मिल्ने ठ्याक्क कहाँ रहेछ र खुसी सम्पूर्ण यौटै बनी !