अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

पशुपति क्षेत्रका संरचनाहरूको पुनर्निर्माण र बृहत्तर गुरु योजना बनाउन प्राधिकरणले सहयोग गर्ने

बिआरटीनेपाल २०७५ असोज ३ गते १२:१० मा प्रकाशित

काठमाडौँ, भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरूको पुनर्निर्माण र पशुपति क्षेत्रको बृहत्तर गुरु योजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षति ग्रस्त संरचनाहरूको पुनर्निर्माणलाई छिटो गर्न र गुरु योजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल सहितको टोलीसँग छलफल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीहरूको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताउनु भयो ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुन निर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नु पर्ने संरचनाहरूको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताउनुभयो । उहाँले धार्मिक र पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पुनर्निर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरूको संरक्षण कार्यलाई एकसाथ अगाडि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदाय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गर्नु भएको थियो ।

‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेट समेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ’–सदस्य सचिव डा ढकालको भनाइ थियो ।

गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपियाँ विनियोजन गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको पन्ध्र शिवालयका मन्दिर क्षेत्र जमिन भासिएकाले सो क्षेत्रमा भू संरक्षण गर्नुपर्ने र मन्दिरहरूको जीर्ण द्वार र संरक्षण गर्न आवश्यक छ । यस्तै सत्तल बने पनि विश्व रुपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरू, गौरी घाट क्षेत्रमा रहेका बज्र घर र पञ्च देवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरूको पुनर्निर्माण अघि बढ्न सकेको छैन । ‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफै बनाउने निर्णय गरेका छौँ, सदस्य सचिव डा. ढकालले भन्नुभयो–‘पुनर्निर्माणका कामलाई अघि बढाउन पनि त्यसको विकल्प देखिएन’ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दु धर्मको दार्शनिक पक्ष र पशुपतिनाथको पौराणीकतालाई ध्यानमा राखेर गुरु योजना बनाउन सुझाव दिनु भएको छ । ‘गुरु योजना तयार पार्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीहरुको सेवा र सुविधा क्षेत्र गरी समग्र क्षेत्रलाई दुई भागमा राखी गुरु योजना बनाउनु उपयुक्त हुनेछ’, उहाँले भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार २०४६ सालमा बनेको गुरु योजना कार्यान्वयन हुन सकेन भने २०५६ सालको योजना पनि अपेक्षा गरे अनुसार अघि बढ्न सकेन । थियो । हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्धकालिन विकास योजना नहुँदा योजनाबद्ध ढङ्गले पशुपतिनाथ मन्दिर क्षेत्रको मन्दिरहरूको संरक्षण र विकास कामलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउन सकिएको छैन । सदस्य सचिव डा.ढकालले गुरु योजना बनाउने प्रक्रिया सुरु गरेको भन्दै सबै पक्षको सहयोग र सुझावमा अन्तिम रूप दिने बताउनुभयो । उहाँले नेपाल सरकार अन्तर्गतका नापी विभाग, वातावरण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतसँगको सहकार्यमा गुरु योजना बनाउने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालादेखि जयवागेश्वरी, जयवागेश्वरीदेखि गुहेश्वरी, गुहेश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरु योजना बनाउन सुझाव दिनु भएको छ ।

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, सम्पदाविद् सूर्यभक्त सांगाछे, पुरातत्व अधिकृत भीष्म बास्कोटा लगायत सहभागी हुनुहुन्थ्यो । यस्तै पशुपति क्षेत्र विकास कोषका सञ्चालक समिति सदस्य रमेशराज सिवाकोटी, घनश्याम उपाध्याय कोइराला लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू