अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरूलाई एनआरएनएको निर्देशन, विधान संशोधनमा सुझाव पठाउन आग्रह

बिआरटीनेपाल २०७५ भदौ १८ गते ८:५२ मा प्रकाशित

लन्डन । गैर आवासीय नेपाली सङ्घले आफ्ना ७८ वटै राष्ट्रिय समन्वय परिषद्लाई विधान सभामा सहभागी हुन आव्हान गरेको छ । आगामी अक्टोबर १२ अक्टोबरमा काठमाडौँमा हुने विधान सभामा सहभागी हुन चाहने एनसीसीलाई सङ्घले आगामी अक्टोबर ११ भित्र अनिवार्य रूपमा नाम दर्ता गराउन आह्वान गरेको हो । नाम दर्ताका लागि प्रति सहभागी हुन चाहनेले एक सय अमेरिकी डलर दर्ता शुल्क सचिवालयमा जम्मा गर्न महासचिव डा. बद्री केसीले आव्हान गर्नु भएको हो ।

सङ्घको विधानको दफा २९ को उपदफा ३ ले विधान सभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का तत्कालीन, निवर्तमान र संस्थापक पदाधिकारीहरू, सदस्यहरू, सल्लाहकारहरू, हरेक राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष वा निजले तोकेको एक प्रतिनिधि, विभिन्न समितिका संयोजकहरू र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकेको अन्य १० जना गैर आवासीय नेपाली विज्ञहरू प्रतिनिधिको रूपमा उपस्थिति हुन सक्ने व्यवस्था गरिएको महासचिव केसीले बताउनुभयो ।

साथै विधान सभामा नाम दर्ता गराई सहभागी हुनेहरूले अक्टोबर १३ र १४ का दिन काठमाडौँमा सङ्घद्वारा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनमा समेत सहभागी हुन पाउने व्यवस्था मिलाइएको गरिएको छ । नाम दर्ताको लागि सङ्घको वेवाईट https://www.knowledge-nrna.org/registration/ मार्फत पनि गर्न सकिने छ ।

राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूले आफैँ भाग लिन नसक्ने भए आधिकारिक प्रतिनिधि पठाउन पाउने व्यवस्था समेत गरिएको छ । विधानतस् त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिले प्रतिनिधि तोकेको आधिकारिक पत्र समेत इमेल मार्फत सचिवालयमा उपलब्ध गराउनुपर्नेछ । साथै सभामार्फत विधान संशोधन सम्बन्धमा बृहत् छलफल हुने भएकोले विधानमा व्यवस्था भएको व्यक्तिहरू बाहेक प्रतिनिधिका रूपमा आउने सबै पंजिकृत सदस्यहरूका लागि समेत सहभागिता खुला गरिएको महासचिव केसीले बताउनुभयो ।

यसैबिच सङ्घले विधानमा हुनु पर्ने सुधारका सम्बन्धमा सबै पञ्जिकृत सदस्यहरूबाट राय सल्लाह लिई आफ्नो सुझाव सङ्घको सचिवालयमा पठाउन समेत सबै राष्ट्र्रिय समन्वय परिषद्लाई आग्रह गरेको छ । विधान सभा आगामी अक्टोबर १२ मा काठमाडौँस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू