अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

आज श्रीकृष्णजन्माष्टमी– भगवान कृष्णको पुजा आराधना गरी मनाईदै

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:४० मा प्रकाशित

आज श्रीकृष्णजन्माष्टमी पर्व । भगवान कृष्णको पुजा आराधना गरी श्रद्धा भक्तिपुर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भइसकेको छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा एवम् रथयात्रा निकाल्ने गरिएको छ । श्रीकृष्णजन्माष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू