अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

महासङ्घ अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा मनोनीत

बिआरटीनेपाल २०७५ साउन ३१ गते १५:५७ मा प्रकाशित

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छन् । बुधवारको मन्त्रिपरिषद् बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनीत गरेको हो ।

प्रतिष्ठानको सदस्यमा महासङ्घ अध्यक्ष राणासहित पूर्व राजदूत डा. शङ्कर शर्मा, पूर्व सांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्का केसी, प्रा.डा. मिना वैद्य मल्ल, उपरथी हिमालय थापा, अधिवक्ता हरि फुयाँल मनोनीत भएका छन् ।

राणाले मूलकको आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन प्रतिष्ठानमा रहेर काम गर्ने बताएकी छन् । ‘मुलुकको बढ्दो व्यापार घाटा कम गर्न हामीले निर्यात बढाउनै पर्छ र निर्यातमा देखिएका अवरोध हटाउन हाम्रो आर्थिक कूटनीति प्रभावकारी हुनुपर्छ,’ अध्यक्ष राणाले भनिन्, ‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान भनेको सरकारलाई कूटनीतिक क्षेत्रमा सल्लाह सुझाव दिने र मार्ग निर्देश गर्ने थिंक ट्याङ्क पनि भएकाले यहाँ रहेर मैले निजी क्षेत्रको सुझावसहित सम्पूर्ण आर्थिक क्षेत्रकै रूपान्तरणका लागि पहल गर्नेछु ।’

सरकारले हालै विदेशस्थित राजदूत नियुक्तिमा मापदण्डसमेत लागू गरिसकेको पृष्ठभूमिमा विदेशस्थित दूतावासलाई आर्थिक कूटनीतिमा अधिकतम उपयोग गर्न सकिने राणाको भनाइ छ ।

नेपालस्थित अमेरिकी राजदूतावास र विभिन्न गैर सरकारी संस्थामा काम गरेको अनुभवका आधारमा राणाले कूटनीतिक क्षेत्रलाई नजिकबाट बुझेकाले उनको मनोनयनले निजी क्षेत्र पनि उत्साहित छ । प्रतिष्ठानमा निजी क्षेत्रको प्रतिनिधित्व हुनुलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू