अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

मनु दाइको त्यो धाप

लीलाराज दाहाल २०७५ साउन २३ गते २०:५२ मा प्रकाशित

मलाई कहिलेकाहीँ मनमा लागिरहन्छ – कालजयी सिर्जना गर्ने स्रष्टाहरूलाई भेटूँ र ती रचनाका गर्भावस्थाबारे यथेष्ट जानकारी लिऊँ । अनि ती अनगिन्ती कथा व्यथा सुनेर मनको जिज्ञासाको भारी बिसाऊँ । तर पनि कतिपय अवस्था र परिस्थित्तिले त्यसो गर्न अनुमति प्रदान गर्दैन । त्यसैले कहिले काहीँ चाहनाको ढोकामा ताल्चा मारेर बस्नु पर्दो रहेछ । साहित्यको अध्ययन गर्न थालेदेखि मेरो मनको श्रद्धाको आसनमा केही लेखक , कविहरू स्थाई रूपमा बसी आएका छन् । यिनै मध्येका एक सम्मानित लेखक हुनुहुन्छ, मनु ब्राजाकी ।

मैले जहिलेदेखि गम्भीर रूपमा साहित्यको अध्ययन गर्न थालेँ ,त्यही बेलादेखि मेरो मनको ठुलो घरमा मनु ब्राजाकीको बसोबास रही आएको पाउँछु ।

स्कुल तहको शिक्षा पुरा भएदेखि म भित्र सुसुप्त रूपमा रहेको साहित्यिक अध्ययनको भोक तीव्र रूपमा बढ्न थालेको थिए । स्कुले पाठ्यक्रममा समेटिएका कथा, कविता, निबन्ध, प्रबन्ध र जीवनीले म पटक्कै अघाउन सकेको थिइनँ । अझ क्याम्पसको अध्ययन सुरु भएपछि त चेतनाको लहरो अझ लामो भएको थिए ।

२०५१ सालको जेष्ठ महिना । पढेर ठुलो मान्छे बन्ने महत्वाकांक्षाको झोला बोकेर म पनि काठमाडौँ आएँ । क्याम्पसको अध्ययनले ज्ञानको घेरो अलि ठुलो बनाइ दियो । पुस्तकालय मेरो अर्को प्यारो घर हुन थालेको थियो । पुस्तकालयका पुस्तकहरू मेरा प्यारा आफन्त र साथी जस्ता लाग्न थालेका थिए । एक दिन कसरी कसरी साझा प्रकाशनको मासिक साहित्यिक पत्रिका “गरिमा” का २०४२, २०४३ वा २०४४ साल तिरका दुई अङ्क मेरा हातमा आइपुग्छन् । एउटा कथा विशेष अङ्क र अर्को सामान्य अङ्क । त्यति बेला आँखा झिमिक्क नगरी ती दुवै अङ्क पुरै पढेर सकेको थिएँ मैले । विभिन्न विशिष्ट लेखकका रचना समाविष्ट भए पनि मलाई एकै लेखकका दुई वटा कथाले भित्रै सम्म हल्लाएका थिए । विशेष अङ्कमा प्रकाशित “पुरुष र पेटिकोट” र सामान्य अङ्कमा प्रकाशित “आखिर सजीवको कर्तव्य के हो त ?” भन्ने कथाहरूको प्रभाव म भित्र यसरी परेको थियो कि त्यतिखेर मलाई अरू लेखकका रचना सटही लागेका थिए । “पुरुष र पेटिकोट” कथाले महिला पुरुषबाट होइन महिलाबाट नै बढी पीडित छन् भन्ने सन्देश बोकेको थियो भने “आखिर सजीवको कर्तव्य के हो त” भन्ने कथाले तराईको आंचलिक परिवेशलाई सुन्दर ढङ्गले अभिव्यक्त गरेको थियो । ती दुवै कथाले मलाई यसरी ताने कि मलाई ती कथा लेख्ने कथाकारलाई भेट्न पाए हुन्थ्यो जस्तो लाग्न थालेको थियो । पत्रिकामा कथाकारको नाम पढ्छु– कति असजिलो ! मनु ब्राजाकी !! अनि यी मनु ब्राजाकी कस्तो हुनुहोला भनी मनमा उहाँको रूप आकृति बनाउन खोज्छु । कसै गरी हुँदैन ।

के होला मनु ब्राजाकी भनेको ? फेरि अर्को चिन्ताले बास गर्छ मेरो युवा मस्तिष्कमा, मनु भनेको युवती हुन् कि ? ब्राजाकी भनेको कस्तो थर होला ! जे सुकै होस् अर्थ , मनु ब्राजाकी भन्ने नाम मेरो मनमा अमिट छाप बनेर बसिसकेको थियो । म मनुको असली पाठक बनिसकेको थिएँ । मैले उहाँका भेटे सम्मका कथाहरू पढ्न थालेको थिएँ । मेरो मनमा आसन जमाएर बस्ने पहिलो कथाकार मनु ब्राजाकी नै हुनु हुन्छ ।

उहाँका कथाहरूले मलाई गहिरोसँग प्रभाव पार्न थालेका थिए । मैले पाठ्यपुस्तक बाहेक पहिलो पल्ट किनेको साहित्यिक पुस्तक उहाँकै कथा सङ्ग्रह “आकाशको फल” थियो । यो पुस्तक मैले यति तनमयताका साथ पढेँ कि मलाई लाग्न थाल्यो साहित्यको सर्वश्रेष्ठ विधा नै कथा हो । अनि म बिस्तारै कथाको पोखरीमा पौडन थालेँ । कथा मेरो प्रिय विधा हुन थाल्यो ।

मनु ब्राजाकी सँगसँगै अरू कथाकारका कथाहरू पनि पढ्न थालेँ । तै पनि किन किन मनुकै कथाहरू चमत्कारिक, गहन र प्रभावकारी लाग्थे मलाई । उहाँका कथाहरू पढ्दा पढ्दै कता कता म भित्र पनि कथा लेख्ने दुस्साहस पलाउन थाल्यो । कथा लेख्ने तरिका, शिल्प, कला केही थिएन म सँग । अझै पनि छैन तर पनि कथा लेखूँ भन्ने भावनाको हुरी चल्न थालेको थियो म भित्र । अनि म जसोतसो कापीका पानामा कलमको मसी पोख्न थालेको थिएँ ।

२०५३ सालको माघ महिनाले मलाई दाङ्गको तुलसीपुर सम्म पु¥याएर छोड्यो । त्यो रोमान्चकारी बस यात्राका सानातिना घटनालाई अलि अलि काल्पनिक फुर्का फुर्की जोडेर मैले कथाको रूप दिएँ । जुन रचना कथाकै नाममा “ सहयात्री” शीर्षकमा गरिमामा २०५४ सालको माघ अङ्कमा प्रकाशित भएर पाठक छेउ आइपुग्यो । मेरो यही कथाले मलाई पहिलो पटक मेरा प्रिय कथाकार मनु ब्राजाकीसंग भेट गरायो ।

गरिमामा मेरो कथा छापिएको मात्र के थियो , म पनि कथाकार भएको भ्रमको रथमा चढेर एक दिन साझा प्रकाशनको हाताभित्र च्याउन पुगेँ । त्यो दिन शायद २०५४ साल फल्गून महिनाको अन्तिम दिन थियो जुन दिनले मलाई प्रिय कथाकार मनु ब्राजाकीसंग साक्षात्कार गरायो । म खुसीले त्यसै त्यसै उफ्रिएको थिएँ ।

सोध्दै खोज्दै पुगेँ म गरिमाको सम्पादन कक्षमा गरिमाका सम्पादक गोपाल पराजुलीको कार्य कक्षमा बसेर चार जना गम्भीर मानव आकृति नेपाली साहित्यको भूत , भविष्य र वर्तमानका बारेमा छलफल रत थिए । सँघारको केही समयको उभ्याई पछि मैले अभिवादन सहित आफ्नो नाम बताएँ । तिनै चार मध्येका एक हुनु हुँदो रहेछ मैले खोजिरहेका कथाकार मनु ब्राजाकी । अर्का एक गरिमाका सम्पादक गोपाल पराजुली अन्य दुई को थिए मैले थाहा पाउन सकिन ।

अरू राम्रा राम्रा कथा लेख्नुस् भनेर मलाई सम्पादक पराजुलीले प्रोत्साहित गर्नु भो र पारिश्रमिक स्वरूप मैले छ सयको थैली पनि प्राप्त गरेको थिएँ ।

त्यो दिन म यति खुसी भएँ कि मनु ब्राजाकीलाई कहिल्यै नछोड्नु जस्तो भई रह्यो । त्यतिखेर मनु ब्राजाकीले मेरो काँधमा मार्नु भएको धाप म कहिल्यै बिर्सन्न । असाध्यै न्यानो र स्नेही थियो त्यो धाप । म जस्तो फुच्चे केटोको लागि मनु ब्राजाकी जस्तो प्रख्यात कथाकारको सामिप्यता पाउनु अहोभाग्यको कुरा थियो । मैले त्यो धापलाई आशीर्वादका रूपमा स्मरण गरिरहेको छु अझ सम्म पनि ।

गरिमाका सम्पादकको कार्यकक्षको त्यो छलफल धेरै बेर चलेन । मनुदाइको पछि लागेर म पनि साझा प्रकाशनबाट बाहिरिएँ । बाहिर आएर मनु दाइ र म दाइकै अगुवाइमा एउटा गल्ली भित्र पस्यौँ । दाइको सधैँ जसो जाने नियमित होटेल रहेछ त्यो । बस्ने बित्तिकै दाइको प्रिय झोल आइपुग्यो स्टिल गिलासभरि । अनि मलाई के लिने भनेर इसाराले नै सोध्नु भो । मैले अम्लेट मगाएँ । करिब दुई घण्टा जतिको बसाइमा ६ , ७ वटा त दाइको गजल मात्रै सुनियो । म गजल तिर मोडिनुमा यस घटनाको पनि हात छ कि जस्तो लाग्छ अहिले मलाई । त्यो दिनको महफिल मेरो लागि त बिलकुल नयाँ अनुभव थियो । मनु दाइ एउटा सिद्दहस्त कथाकार अनि गजलकार ! म बिलकुल आलो काँचो युवा पाठक ! दाइले म माथि निकै बेर सम्म स्नेहको वर्षा गराई रहनु भएको थियो । दाइको हृदयबाट निसृत प्यारको नदीमा म त्यो दिन निकै बेर सम्म पौडिरहेको थिएँ । सम्झन लायक दिनहरू मध्ये त्यो दिन पनि एक हो । 

तीन दिन जति मनु दाइ सँग खुब घुमेँ म त्यस बेला । त्यति सङ्गतबाट मनु दाइको व्यक्तित्व र बानी व्यवहारको मज्जाले अध्ययन गर्ने मौका पाएँ । मनु दाइका कथा जति गम्भीर छन् त्यति नै शालीन छ दाइको व्यक्तित्व । मनु दाइ घमण्डको रथमा चढ्नु भएको मैले कहिल्यै देखिन । सधैँ आत्मीयताको कालो पत्रे सडकमा हिँडिरहेको देख्थेँ मैले उहाँलाई । आफूसँग रकम भए सम्म अरूको नखाने, साना र नवोदितहरुसँग पनि आत्मा देखि नै खुल्न सक्ने अनि असाध्यै माया गर्ने, मनु दाइका बिर्सनै नसकिने गुणहरू हुन् ।

मनु दाइको भैसेपाटीको निवासमा पुग्दा ठुलै धाममा आएको अनुभव हुन्थ्यो मलाई । दाइको हस्ताक्षरमा उपहार स्वरूप प्राप्त गरेको दाइको कथा सङ्ग्रह “ तिम्री स्वास्नी र म ” मेरो घरको पुस्तकको खातमा शोभा बढाएर बसिरहेको छ अझै ।

आफ्नो पहिलो कथा मनु दाइ सँगै गरिमामा छापिनु पनि मेरो खुसीको श्रोत हो एउटा । त्यही अङ्कमा मनु दाइको “जोर रुपैयाँ” कथा छापिएको छ जुन मनु दाइको मास्टर पिस कथा हो । मनु दाइका कथा र गजलले मलाई नजिक पु¥याई रहन्छन् ।

भविष्य यात्रा, पारदर्शी मान्छे, अर्थ मुक्त, भुन्ट्टीको भविष्य, रेबतिया माने रफिकन, अन्नपूर्णाको भोज, तिम्री स्वास्नी र म, सामन्तको सम्पत्ति, आमालाई बेच्नु हुँदैन, लाटा ! एउटी अबलाको अभियान, आकाशको फल, अमलेख, छिँडीमा सूर्योदय, राग हजुरिया जस्ता सशक्त कथाहरूले मलाई असाध्यै प्रभाव पारेका छन् । यी कथाहरू कसरी लेखिए ? मनु दाइकै मुखबाट सुन्न पाए कति आनन्द हुने थियो । उहाँका यी र यस्तै चर्चित कथाहरूका गर्भावस्थाको बारेमा जान्न पाए कति मजा हुने थियो । मैले यस्तै यस्तै कुरा मनमा खेलाएर धेरै दिन बिताएँ । तर अब यो सम्भव छैन । मनु दाइ अब यस संसारमा रहनु भएन ।

म गर्वका साथ भन्न सक्छु – कथाप्रति मेरो अभिरुचि बढेको मनु ब्राजाकीका कथा पढेर नै हो । मेरा कलिला हात समाएर मलाई कथाको राजमार्गमा ताते ताते गरी हिँडाउने पहिलो व्यक्तिको नाम नै मनु ब्राजाकी हो भन्ने मलाई सधैँ लागि रहन्छ ।

हार्दिक श्रद्धान्जली मनु दाइ ।
बागमती ११ कर्मैया, सर्लाही ।

प्रतिक्रिया