अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

के के निर्णय भयो एन आर एनको युरोपीय बैठकमा (पूर्ण पाठ)

बिआरटीनेपाल २०७५ साउन १५ गते १०:२३ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ वौ युरोपीय महिला बैठक २९ र ३० जुलाई, २०१८ मा लग्जेम्बर्गमा भव्यताका साथ सम्पन्न भयो । नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदीप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, सङ्घीय सांसदका माननीय सांसदद्वय रामकुमारी झाँक्री र डा. सूर्य पाठक, पूर्व मन्त्री हिसिला यमी, बेल्जियम नेदरल्याण्ड र लग्जेम्बर्गका लागि नेपाली राजदूत महामहिम लोक बहारदुर थापा, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संरक्षक राम प्रताप थापा, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू, एसिया, अमेरिका, मध्यपूर्व र युरोपका २८ देशबाट करिब चार सय प्रतिनिधिहरूको उपस्थिति र युरोप संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा सम्पन्न भयो । बैठकको सफलताका लागि लग्जेम्बर्गका प्रधानमन्त्री जाभियर बेटेलले भिडियो सन्देश तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले लिखित सन्देश पठाउनु भएको थियो । उक्त बैठकका निर्णयहरू निम्नानुसार छन् । 

१. नयाँ संविधानले गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक र संस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । आगामी आश्विन महिना सम्म कानुन बनाई प्राप्त संवैधानिक अधिकारको पूर्ण उपभोगको लागि तत्काल स्पष्ट कानुन निर्माण गरी जारी गर्न यो बैठक नेपाल सरकार समक्ष जोडदार अनुरोध गर्दछ । बैठकमा सहभागी माननीय मन्त्री ज्यू तथा सङ्घीय सांसदका माननीयज्यूहरुबाट यस विषयमा प्राप्त आश्वासन र सदस्यता प्रति हार्दिक आभार प्रकट गर्दै नागरिकता सम्बन्धी प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप अधिकारका लागि पहल जारी राख्ने निर्णय गरिन्छ ।

२. नेपाल सरकारको सहकार्यमा गैर आवासीय नेपाली सङ्घले अक्टोबर १२-१४, २०१८ मा काठमाडौँमा आयोजना गर्ने पहिलो विश्व विज्ञ सम्मेलन (First NRN Global Knowledge Convention) को पूर्व तयारी स्वरूप यस बैठकमा सीप ज्ञान र नवप्रवर्धन (Skill, Knowledge and Innovation) सत्रको आयोजना गरियो । यसमा शिक्षा, स्वास्थ्य, कृषि, फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत भए । विश्व विज्ञ सम्मेलन सफल पार्न युरोपका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यस बैठक आग्रह गर्दछ ।

३. नेपालको बढ्दो बेरोजगारी समस्याको अन्त्य गर्न गैर आवासीय नेपाली सङ्घको सहकार्यमा प्राविधिक शिक्षा प्रणाली (भोकेशनल शिक्षा) लागु गर्न प्रस्ताव गर्दै सरकारसँग यसमा आवश्यक सहकार्य गर्ने यो बैठक निर्णय गर्दछ ।

४. गैर आवासीय नेपाली सङ्घ महिला फोरमले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै महिलाहरूको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरूलाई लगानीका क्षेत्रमा अघि बढाउनुपर्ने निर्णय गर्दछ । गैर आवासीय नेपाली सङ्घ महिला फोरमको सक्रियतामा नेपालमा गत वर्षबाट सुरु भएको सिप विकास तालिमलाई निरन्तरता दिने निर्णय गरिएको छ । गैर आवासीय नेपाली अभियानमा महिलाहरूको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्ने निर्णय गरिन्छ ।

५. विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरूलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था अविलम्ब गराई ती बच्चाहरूलाई विदेशबाट स्वदेश जान यात्रा अनुमति पत्रको व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिन्छ ।

६. नेपाल सरकारले हालसम्म नर्वे, थाइल्यान्ड, श्रीलंका, मौरिसस, अष्ट्रिया, पाकिस्तान, चीन, कोरिया, कतार र भारतसँग दोहोरो करमुक्ति सम्झौता सम्पन्न गरेको छ । लगानीकर्ताको लगानीको सुरक्षाका निम्ति अनिवार्य सर्तको रूपमा रहने करमुक्ति सम्झौता (डिटिएए), विप्पा र इपिए सम्झौता नभएका मुलुकबाट ठुलो लगानी आउन नसकेको निष्कर्ष सहित अन्य देशहरूमा समेत सम्झौता प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरिन्छ । यसले गैर आवासीय नेपाली र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बैठकको ठहर छ ।

७. गैर आवासीय नेपाली सङ्घद्वारा सञ्चालित लाप्राक नमुना बस्ती, कार्यालय भवन, शंखमूल पार्क, उज्यालो नेपाल, पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरू आगामी अक्टुवरभित्र सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्दछ । यसै वर्ष बेलायतमा औपचारिक रूपमा घोषणा गरिएको नेपालमा १० अर्ब लगानी सुनिश्चित गर्ने कार्यक्रम तत्काल अघि बढाउन यो बैठक पुन प्रतिबद्धता जाहेर गर्दछ ।

८. नेपालमा वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपाल सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यवध्दता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्यधिक पर्यटकहरू भित्र्याउन युरोप स्थित नेपाली दूतावासहरू तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरूसँग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषदहरुलाई अनुरोध गर्दछ । यो अभियानलाई सफल बनाउन नेपाल वायुसेवा निगमको हवाई सेवा युरोप क्षेत्रमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिन्छ ।

९. युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली सङ्घ सरकारसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गर्दछ । त्यसका लागि आवश्यकता अनुसार कानुनी व्यवस्थाका लागि सरकारसँग आग्रह गर्ने निर्णय गर्दछ ।

१०. गैर आवासीय नेपालीहरूको उपस्थिति र समस्याहरू बढ्दै गइरहेको पोर्चुगल, इटाली लगायतका देशहरूमा नेपाली दूतावास राख्नु पर्ने महसुस बैठकले गरेको छ र नेपाल सरकारलाई यस तर्फ यथाशीघ्र आवश्यक कदम चाल्न अनुरोध गर्दछ ।

११. युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैर आवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गीण विकासमा हातेमालो गर्न सरोकार वाला व्यक्ति तथा निकायहरूलाई अनुरोध गर्ने निर्णय गरिन्छ । साथै युरोप क्षेत्रका गैर आवासीय नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपिल गर्दछ ।

१२. गैर आवासीय नेपाली सङ्घको आगामी अक्टुवरमा हुने सङ्घको विधान अधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव माथि छलफल भयो । प्रस्तावित संशोधनमा अगस्त ३० तारिख भित्र सुझाव तथा सल्लाह पेस गर्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गरिन्छ । 

१३. नेपालको विद्यमान निर्बाहमुखी कृषि प्रणालीलाई ब्यबसायिकीकरण तथा औद्योगीकरण गरी ‘सम्बृद्धीको आधार कृषि र कृषि अभियानमा गैर आवासीय नेपाली’ भन्ने भावका आधारमा विदेशमा सिकेका प्रविधि, सिप र अनुभव सहित गैर आवासीय नेपालीहरूको कृषि क्षेत्रको समग्र विकासमा सहभागिता बढाउँदै जाने प्रतिबद्धता प्रकट गर्दछ ।

१४. यस बैठकमा युरोप क्षेत्रमा क्रियाशील २८ राष्ट्रिय समन्वय परिषदहरुको क्रियाकलापबारे शुष्म छलफल गरियो । आगामी दिनमा अझै गैर आवासीय नेपालीहरूको हकहितको लागि सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढवा दिँदै सम्बन्धित देशका स्थानीय निकाय र सरकारसँग सहकार्य गरी नेपाल र नेपालीका हितमा कार्यहरू गर्न पहल गर्ने निर्णय गर्दछ । आगामी युरोपीय बैठक इटालीमा र त्यस पछिको क्रमशः आयरल्यान्ड र फिनल्याण्डमा गर्ने पनि निर्णय गरियो ।

१५. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने नेपाल सरकार, लग्जम्बर्ग सरकार बेनेलक्सका लागि बेल्जियम स्थित नेपाली दूतावास, सम्पूर्ण एनसिसिहरु, आयोजक राष्ट्र लक्जेम्बर्ग, प्रायोजकहरू, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू