अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

झगडा

राकेश कार्की २०७५ असार २५ गते १२:४६ मा प्रकाशित

कविता
झगडा कुनै खेल होइन
एउटाले जित्ने अर्कोले हार्ने
न त कुनै समयको पाबन्दी नै हुन्छ
समय सकिए पछि सकिने
त्यहाँ कुनै रेफ्री पनि हुँदैन
फाउल गर्नेलाई पहेँलो र रातो कार्ड देखाउने
अथवा झगडाको मैदान देखि निकालिदिने
न त त्यहाँ लाइनस् म्यानहरू नै हुन्छन्
बिग्रेका छुद्र बोलीले सीमा नाघे
खबरदारी गर्ने
मिली पो हाल्छ कि भनी थ्रो र पेनाल्टी दिने

एक्लै कहिले झगडा हुँदैन
झगडा हुनलाई दुई वा दुईभन्दा बेसी हुनै पर्छ
फ्रीवेको कारपुल लेन जस्तो
आ-आफ्नो वेट समूहको
बक्सिङको रिङ जस्तो
अथवा कुस्ती, जुडो, करातेको संग्राम जस्तो

झगडा त
नराम्रो वचनदेखि चिच्याहटसम्मको
चोटपटक देखि मृत्युसम्मको
अनि सुर्ताको आँसुदेखि डिभोर्ससम्मको
एउटा सानो यथार्थ हो
एउटा विशाल हकिकत हो

यसले आफूलाई, घरपरिवारलाई, छरछिमेकलाई
सम्पर्कमा आउने सबै भलादमी मानिसलाई
तितो अनुभूति दिलाउँछ
सधैँभरिको लागि नबिर्साउने गरी

झगडा त ठुलो वैरी हो
बिगार्ने, तोड्ने, छुट्ट्याउने
तहस नहस ध्वस्त पार्ने
माया प्रीतिलाई
नाता, सम्बन्ध र दुई प्राणको बन्धनलाई

त्यसैले त झगडा
भरसक नगरेकै राम्रो
मुखमुखै जवाफ नफर्काएकै राम्रो
सन्त ज्ञानीले जस्तै
एउटा गालामा हाने अर्को गाला थापेकै राम्रो
एकचोटिको जिन्दगीमा
सुर्ता गरेर आँसु नझारेकै राम्रो ।।