अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

वार्षिक तीस अर्बको फर्निचर कारोबार

बिआरटीनेपाल २०७५ असार २४ गते १०:५१ मा प्रकाशित

काठमाडौँ । नेपालमा घर सजाउनका लागि महत्त्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार रु ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने फर्निचरको मात्रासमेत बढिरहेको छ ।

नेपाली मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन चाहने उपभोक्तालाई नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले मेलाको आयोजना गर्ने भएको छ ।

सङ्घका अध्यक्ष राजेश अग्रवालले फर्निचरको उत्पादन तथा प्रयोगका बारेमा जानकारी दिन मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्नुभयो ।

फर्निचर तथा फर्निसिङको बारेमा एकै छानामुनि जानकारी दिने उद्देश्यले आगामी भदौ १४ गतेदेखि मेलाको आयोजनाको गरिने भएको छ । नेपाल फर्निचर्स तथा फर्निसिङ सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा विश्वमा पछिल्लो समयमा प्रचलनमा आएका फर्निचरको बारेमा विशेष जानकारी दिइने र व्यापारसमेत गरिनेछ ।

पछिल्लो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसनले गर्नेछ । मेलामा किचन, बेडरूम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।

यसै गरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको दाबी छ । पछिल्लो दिनमा नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटो अघि बढेको भन्दै नेपाली उत्पादनको नेपालीले नै प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

बर्सेनि आयोजना हुँदै आएको एक्स्पोको छैटौँ संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने मेलाका संयोजक शुभेन्द्र जोशीको भनाइ छ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा मेलाको आयोजना हुन लागेको बताउनुभयो ।

पाँच दिनसम्म चल्ले उक्त मेलामा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका कक्ष रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा मेलाको आयोजना हुँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू