अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

टीपीएस विषयमा केन्द्रित हुँदै एनआरएनए अमेरिका हेल्पडेस्कको दोस्रो विज्ञ फोरम सम्पन्न

विश्वमान आङ्गदेम्बे २०७५ जेठ २८ गते २३:१० मा प्रकाशित

यही जुन १० तारिख आइतबार साँझ अमेरिकाको न्यूयोर्कमा “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को दोस्रो मासिक कार्यक्रम “विज्ञ फोरम – २” सम्पन्न भएको छ । चर्चित नेपाली अमेरिकी कानुनी अधिवक्ता विनोद रोका रहेको उक्त कार्यक्रम वर्तमान टीपीएस विषयमा केन्द्रित थियो । कार्यक्रम एनआरएन न्यु योर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीको नेतृत्वमा न्यु योर्क च्याप्टर तथा न्यु योर्क हेल्पडेस्कसँगको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन चर्चित पत्रकार किरण मरहट्टाले गरेका थिए भने कार्यक्रम बिआरटी नेपाल डट कम लगायत विभिन्न नेपाली अमेरिकी अनलाइन मिडियाबाट फेसबुक लाइभ गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता विनोद रोकाबाट निम्न मुख्य जानकारीहरू दिएका थिए ।
(१) नन-इम्मिग्रेसन भिसा: जुन २४, २०१९ मा टीपीएस सकिनु अगावै नन-इम्मिग्रेसन भिसा (विद्यार्थी, पर्यटक, ग्रिन कार्ड, आदि) मा हरेक भिसाको मापदण्ड पूरा गरेर जान सकिन्छ । ग्रिन कार्डको हकमा कुनै कम्पनीको स्पोन्सरमा लेबर सर्टीफिकेसनबाट फाइल गर्न सकिन्छ तर त्यसको लागि विगतमा स्टेटस बाहिर भएको भए त्यो १८० दिन भन्दा कम हुनुपर्छ ।

(२) प्रवेश निषेध: १८० दिनभन्दा बढी र १ वर्षभन्दा कम स्टाटस बाहिर भए अमेरिकामा कम्तीमा ३ वर्ष प्रवेश निषेध हुनेछ भने १ वर्षभन्दा बढी भए कम्तीमा १० वर्ष प्रवेश निषेध हुने कानुन छ ।

(३) टीपीएस सकिएपछिका विकल्पहरू:
(क) अमेरिकी नागरिकसँग बिहे गरेर ग्रिन कार्ड फाइल गर्ने, (ख) असाइलमको मापदण्ड पूरा गरी फाइल गर्ने, (ग) कुनै अपराधबाट पीडित भई फाइल गर्ने र (घ) विशिष्ट प्रतिभाशाली व्यक्तित्वको रूपमा फाइल गर्ने । (क) बाहेक अरू सबैमा १८० दिनको हदबन्दी लागू हुन्छ । (क) को हकमा जतिसुकै दिन स्टाटस बाहिर भए पनि ग्रिन कार्ड फाइल गर्न रोक हुँदैन ।

(४) डिपोरटेसन अर्डर भएको अवस्थामा: डिपोरटेसन अर्डर जारी भएको तर पछि टीपीएस पाएर एडभान्स्ड परोल लिई अमेरिका बाहिर गई फर्केर आई अमेरिकी नागरिकसँग बिहे गरेर ग्रिन कार्ड पाएको पनि केस छन् । तर, गैर-कानुनी रूपमा सीमा पार गरी आएकाहरुले अमेरिकी नागरिकसँग बिहे गरेर ग्रिन कार्ड नपाएको अवस्था छ ।

(५) कानुनी विश्लेषण: इम्मिग्रेसन विभाग र अदालतको फरक विश्लेषण पाइएको छ विश्लेषण क्यालिफोर्नियाको “सर्किट अदालत” ले टीपीएसलाई नै आफैमा एउटा नन-इमिग्रान्ट स्टाटस मानेको छ भने इम्मिग्रेसन विभागले त्यसको फरक व्यक्तिको सुरुको स्टाटस लई मानेको छ विश्लेषण त्यस्तै राज्यको अदालत र सङ्घीय अदालत बिच पनि कानुनी व्याख्यामा फरक छ । न्यु योर्क राज्यको सर्किट अदालतले हालसालै पक्राउ परेको पिज्जा डेलिभरी गर्नेलाई उसको अदालतमा उपस्थित हुने दिन सम्म डिपोर्ट नगर्न भने पनि उसले पहिले नै अदालतबाट डिपोरटेसन अर्डर पाएको अवस्थामा इम्मिग्रेसन अधिकारीहरूले जहिले डिपोर्ट गर्न सक्ने कुरा छ ।

(६) ठेगाना परिवर्तन: नन-इम्मिग्रंट्सहरुले आफ्नो ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआइएसलाई जानकारी गराउनु पर्छ, नत्र भने २०० डलर वा ३० दिन जेल सजाय हुनेछ ।

(७) असाइलम: असाइलमको हकमा १८० दिन भन्दा बढी स्टाटस बाहिर भएको हुनुहुँदैन । असाइलम फाइल गर्दा जम्मा ५ वटा समूहमा फाइल गर्न सकिन्छ – धार्मिक, वर्ण, राष्ट्रियता, राजनैतिक र विशेष समूह (पत्रकार, मानव अधिकारवादी, लेखक, कलाकार, आदि) । यसमा आफूलाई यी मध्ये कुनै पनि वर्गमा परेकै कारणले सार्वजनिक पेर्सिकुसन वा दमन वा अपराधको पीडित हुनुपर्छ । हालैको महान्याधिवक्ता जेफ सेसनको निर्णयले घरेलु हिंसा वा व्यक्तिगत पीडा/यातनाको आधारलाई खारेज गरेको छ ।

(८) देशबाट निकाला: गैर-कानुनी रूपले अमेरिका छिरेको सीमा देखि १०० माइल भित्र र पार गरेको २ हप्ता भित्र पक्राउ परेको खण्डमा तुरुन्त डिपोर्ट हुनसक्ने व्यवस्था छ । २ हप्ता देखि २ वर्ष सम्मको हकमा रेगुलर डिपोर्टको व्यवस्था छ जुन समयमा कानुनी उपचार खोज्न सकिन्छ । २ वर्ष भन्दा बढीको हकमा डिपोर्टको पुर्जा जारी भई स्वयम् फिर्ती गर्न ४ महिना थप समय प्रदान हुने व्यवस्था छ, बिना अपराधको केस ।

(९) विवरण फरक परेको खण्डमा: पहिले भर्दा र अहिले भर्दा टीपीएसमा केही फरक छ । कतिपय कुराहरू पहिलेकै भरेकोले भर्नु पर्दैन । त्यहीपनि कथम् कदाचित रेकर्ड फरक परेमा त्यसको जस्टिफाइ गर्न सक्नुपर्छ, नत्र भने त्यो ठगीमा पर्छ ।

(१०) अन्तमा: हरेक केस फरक हुन्छ । हरेक व्यक्तिको अवस्था फरक हुन्छ । कुनैलाई पनि “जेनेरलाइज” गर्न मिल्दैन I त्यसैले आफ्नो केस राम्रो प्रमाणित क्षेत्र सम्बन्धी कानुनी विज्ञ/अधिवक्ता लाई देखाउनु पर्छ I कानुनले प्रमाण खोज्छ र हेर्छ I त्यो पुराउन सक्नुहुन्छ भने आत्तिनु पर्दैन ।

Video