अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई ढकालको आग्रह

बिआरटीनेपाल २०७५ जेठ १७ गते १०:०८ मा प्रकाशित

काठमाडौँ, १७ जेठ नेपालका एक जना उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरूमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०७ औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उहाँले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरूतर्फ विश्वका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभएको हो ।

नेपाल रोजगारदाता परिषद्को अध्यक्ष समेत रहनुभएका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रमसम्बन्धी कानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारहरूको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको पनि स्पष्ट गर्नुभयो ।

श्रमिकहरूको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवर्द्धनका साथै श्रमिकहरूका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठुलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताउनुभयो ।

नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरूको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राख्नुभएको छ ।

यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवर्द्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरू सृजना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताउनुभयो ।

आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नबर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठुलो महत्त्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रूपान्तरणका लागि सघाउ पुर्‍याउने धारणा पनि उहाँले राख्नुभयो ।

कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरूका सङ्घ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्त्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सृजनामा यसले सहयोग पु¥्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताक अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो ।

यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको नेपालले अपेक्षा गर्ने धारणा पनि उहाँले सो सम्बोधनका क्रममा राख्नुभयो ।

उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरू गरी ४ हजार भन्दा बढीको सहभागिता रहेको ढकालले जानकारी दिनुभएको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०७ औँ सत्र यही मे २८ देखि जुन ८ सम्म उक्त सत्र सञ्चालन हुनेछ ।

अध्यक्ष ढकाल रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, पर्यटन, ऊर्जा, सूचना–प्रविधि, अटोमोबाइल जस्ता क्षेत्रमा लगानी गर्दै आइरहेको आइएमई ग्रुपका पनि अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू