अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

आफ्ना नागरिक फिर्ता गर्न दक्षिण कोरियालाई उत्तरको आग्रह

बिआरटीनेपाल २०७५ जेठ ६ गते १८:३८ मा प्रकाशित

उत्तर कोरियाले दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न माग गरेको छ । करिब दुई वर्षअघि आफ्नो देशका ती नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीहरूले अपहरण गरेर लगेको बताएका उत्तर कोरियाको भनाई छ ।

ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया सरकारले माग गरेको उत्तर कोरियास्थित रेडक्रस सोसाइटीका प्रमुखलाई उद्धृतगर्दै उत्तर कोरियाको सरकारी समाचार समिति केसिएनएले जनाएको छ ।

ती महिलालाई दक्षिण कोरिया विरोधी क्रियाकलापमा लागेको भनेर अपहरण गरिएको थियो । उनीहरूलाई उत्तर कोरियाबाट नभएर उनीहरू कार्यरत रहेको अर्कै देशबाट अपहरण गरेर त्यहाँ ल्याइएको थियो । उक्त अपहरणको उत्तर कोरियाले सो समयमै विरोध गरेको थियो । उनीहरूलाई तुरुन्त रिहा गरेर पछिल्लो समयमा विकसित शान्ति र सौहार्द वातावरणको सम्मान गर्न उत्तरले आग्रह गरेको हो ।

सैन्य अभ्यास रोक्न पुनः आग्रह
यसै गरी उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न फेरि पनि आग्रह गरेको अर्को एक समाचारमा जनाइएको छ। सोही सैन्य अभ्यास सोलमा जारी रहेको भन्दै उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बुधवार बस्ने भनिएको बैठकसमेत उत्तर कोरियाले रोकेको थियो । सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । उक्त सैन्य अभ्यास रोक्न उत्तर कोरियाले बिहीबार पनि आग्रह गरेको थियो ।

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो सैनिक अभ्यास सुरु भएको समाचार पछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ । सो सैनिक अभ्यासले दुई कोरियाबिच गएको अप्रिल २७ मा भएको शान्ति सम्झौताको पनि उल्लङ्घन गरेको उत्तर कोरियाको भनाइ छ । गत बिहीबार गरेको आग्रहमा उत्तर कोरियाले उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । अमेरिका र उत्तर कोरिया सो वार्ताका लागि तयारीमा रहेको बताइरहेका छन् ।

शान्ति सम्झौताको पालना गर्न माग
यसैबिच प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाले दक्षिण कोरियासँग केही हप्ता अघि भएको समझदारी र शान्ति सम्झौताको पालना गर्न पनि आग्रह गरेको छ । गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौताको कार्यान्वयनका लागि आपूmले त्यसै बमोजिमको काम गरिरहेको भए पनि दक्षिण कोरियाका तर्फबाट भने त्यसको पालना हुन नसकेको उसको आरोप छ । उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आपूmले आणविक अस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ । सोलमा जारी रहेको सैन्य अभ्यासको विषयलाई लिएर उत्तर कोरियाले दक्षिणलाई गम्भीर प्रश्न गरिरहेको छ ।

आफूहरूले आणविक परीक्षणस्थल भत्काउने, आणविक अस्त्रको उत्पादन रोक्ने तथा आफ्नो जेलमा रहेका अमेरिकी र दक्षिण कोरियाली अधिकारीलाई पनि रिहा गरिरहेको तर दक्षिणले भने केही नगरेको उत्तरको आरोप छ । उत्तर कोरियाले भने दक्षिणले सोलमा जारी राखेको सो सैन्य अभ्यासबाट गएको अप्रिल २७ मा दुई कोरियाबिच भएको सम्झौताको उल्लङ्घन भएको जनाएको छ । (सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू