अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

गैर आवासीय नेपाली सङ्घ र टिबिआई ग्रुप बिच पंजिकृत सदस्यहरूलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ जेठ ४ गते ९:४७ मा प्रकाशित

आज एक समारोह बिच गैर आवासीय नेपाली सङ्घ र टिबिआइ ग्रुप (BB Holdings) को ३ वटा प्रतिष्ठानहरू बिबि होलीडेज प्राली, धुलीखेल माउण्टेन रिसोर्ट तथा टिबिआई पब्लिकेशन बिच गैर आवासीय नेपाली सङ्घले जारी गरेको परिचय पत्र भएका सदस्यहरूलाई सुविधा दिने सम्बन्धमा बेग्ला बेग्लै सहमति पत्रमा हस्ताक्षर भएको छ ।

गैर आवासीय नेपाली सङ्घ एवं टिबिआइ ग्रुपका अध्यक्ष भवन भट्ट एवं गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार टिबिआइ ग्रुपका ३ वटा प्रतिष्ठानहरूले गैर आवासीय नेपाली सङ्घका पंजिकृत सदस्यहरूलाई विशेष छुट दिने भएका छन् । अब उप्रान्त गैर आवासीय नेपाली सङ्घले प्रदान गरेको परिचय पत्र भएका व्यक्तिहरूले धुलिखेल माउण्टेन रिजोर्टको कोठामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत, टिबिआइ पब्लिकेशनको प्रकाशनको विज्ञापनमा ३० प्रतिशत र ग्राहक बन्दा २० प्रतिशत छुट पाउने भएका छन् । साथै BB Holidays ले त्यस्तो परिचय पत्र बाहकहरूलाई विशेष सहुलियती सेवा दिने भएको छ । गैर आवासीय नेपाली सङ्घले पंजिकृत सदस्यहरूको लागि Readable Quick Response (QR) Code सहितका कार्ड वितरण गरिरहेको छ ।

सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै सङ्घका अध्यक्ष भवन भट्टले सङ्घ र टिबिआइ ग्रुप बिचको सहमतिबाट दुवै संस्था उद्देश्य प्राप्तिमा सहयोग मिल्ने धारणा राख्नु भयो । उहाँले आफू अध्यक्ष रहेको दुवै संस्थाहरू बिच औपचारिक सहकार्य सुरु भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले भविष्यमा यी बाहेक सञ्चालनमा आउने BB Holdings का कम्पनीहरूबाट पनि यस्तै प्रकारको सहुलियत तथा सेवाहरू उपलब्ध गराइने जानकारी गराउनु भयो ।

समारोहमा बोल्नु हुँदै सङ्घकी उपाध्यक्ष सपिला राजभण्डारीले सङ्घले पंजिकृत सदस्यहरूलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ती परिचयपत्र बाहकहरूले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा सङ्घको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो । उहाँले सदस्यहरूलाई सुविधा प्रदान गर्ने अभियानको सोच पहिले देखी नै भएको तर विविधकारणले गर्दा त्यसताका सुरुवात गर्न नसकेको तर यस कार्यकालमा एक उपसमिति बनाइ अभियानलाई तीव्रता दिएको बताउनु भयो । उहाँले हाल सम्म ७८ वटा मुलुकमा सङ्घको सञ्जाल स्थापित भइसकेको र हाल ७० हजार पंजिकृत सदस्यहरू रहेको बताउनु भयो । उहाँले सबै पंजिकृत सदस्यहरूको लागि ग्लोबल परिपत्र उपलब्ध गराउने कार्य भइरहेको र कतिपय एनसिसिहरुका पंजिकृत सदस्यहरूले ग्लोबल परिपत्र प्राप्त गरिसकेका र अन्य एनसिसिहरुको परिचय पत्र तयारीका क्रममा रहेको जानकारी दिँदै यस कार्यबाट भविष्यमा पंजिकृत सदस्यहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास प्रकट गर्नु भयो ।

सहमति पत्रमा सङ्घको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र टिबिआइ ग्रुप (BB Holdings) का तर्फबाट प्रबन्ध निर्देशक शिशिर भट्टले हस्ताक्षर गर्नु भएको थियो । सहमति पत्र हस्ताक्षर भएपछि उहाँहरूले आज भएको यस सहमतिबाट दुवै संस्था बिचको सम्बन्ध विस्तार भएको र यसले गैर आवासीय नेपाली अभियानमा थप योगदान पुग्ने विचार प्रकट गर्दै खुसी व्यक्त गर्नु भएको थियो ।

समारोहमा काठमाडौँमा रहनु भएका गैर आवासीय नेपालीहरू तथा टिबिआइ ग्रुपका प्रतिनिधिहरूको एवं पत्रकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू