अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 11:23

लत्रिएको आडम्बर

राम लामा अविनाशी २०७५ वैशाख २५ गते १०:१० मा प्रकाशित

कमलको फुल झैँ फक्रिएको जवानी
जवानी सँगै भन्भनाएका भमरा
सिर्सिरे हावा सँगै सल्बलाएका उत्सुकता
आकाशिदै गरेका उत्साह
सबै-सबै, तारा पुञ्ज सँगै रुमलिए

सगरमाथालाई पनि उछिनेको सम्पन्नता
उपभोग र उपयोगको म्याराथोनमा
तोडिएका अनगिन्ती किल्लाहरू
कतै वासना त कतै उन्माद
नाङ्गै जन्मिएको, रुँदै जन्मिएको
त्यही शरीर, यती धेरै खर्चिलोमा बदलियो
त्यही मुहार, यती धेरै हसिलोमा बदलियो
अनमत्त छ
न विगतको याद, न कर्तव्यको बोध

जिन्दगी सधैँ एकनासको कहाँ हुन्छ र ?
समय न हो बदलिन्छ,
धर्तीमा टुसाएको तामा
फुर्ती गरी बाँस बनी आकाशिए पनि
एक दिन, त्यही टुप्पो धर्तीमा लत्रिए झैँ
मान्छे पनि लत्रिन्छ

आफ्नै उद्गम स्थल पुग्ने रहर गर्छ
त्यही दैलो उघार्दै, त्यही अंगेनामा त्यही ओदान
चीज सबै त्यहीँ छन्
तर, जिन्दगी भर अगुल्टो ठोस्दै
ढुङ्ग्रोले आगो फुक्दै सन्तानको पेट भर्ने आमा
आगो फुक्दा-फुक्दै प्राण गुमाइसकेकी छिन्

उनकै सम्झनामा
त्यही ढुङ्ग्राले आगो फुक्दै
आफ्नो अहङ्कार र आडम्बरलाई
पोलेर खरानी बनाउँछ
आफ्ना सन्तान पनि
आफू जसरी नै लत्रिए पछि फर्किएलान्
अनि, अँगेनाको डिलमा बसी
आगोको रापमा पारिवारिक सम्बन्धलाई
न्यानो पार्लान् भन्ने झिनो आशालाई पोको कस्दै
पश्चात्तापको घेरा भित्र
आफ्नै आँगनमा लम्पसार परेर
एक मुठी प्राण त्यागी दिन्छ ।