अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

संयुक्त अधिराज्यका विदेश राज्यमन्त्री फिल्ड आज नेपाल प्रस्थान गर्दै

बिआरटीनेपाल २०७५ वैशाख २२ गते ८:२३ मा प्रकाशित

संयुक्त अधिराज्य सरकारका एसिया तथा प्रशान्त मामिला हेर्ने विदेश राज्यमन्त्री सम्माननीय श्री Mark Field ले यही मे ६ र ७, २०१८ मा नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम अनुसार आज ५ मे नेपाल प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई नयाँ संसद् र सङ्घीय सरकार गठन भएपछिको संयुक्त अधिराज्य सरकारको उच्च तहमा हुन लागेको यो पहिलो भ्रमण हो । विदेश राज्यमन्त्री सम्माननीय श्री Mark Field को यो भ्रमणलाई संयुक्त अधिराज्य सरकारले नेपालको संविधानको कार्यान्वयन, लोकतान्त्रिक प्रक्रिया एवं नवनिर्वाचित सरकारको स्वागतका साथै नेपालको विकास प्रयासमा सहकार्य गर्ने प्रतिबद्धताका रूपमा लिइएको छ ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा=दुर्गा बहादुर सुवेदीले मे ३ बिहीबार अपरान्ह विदेश राज्यमन्त्री श्री Field सँग शिष्टाचार भेट गरी उहाँको आसन्न भ्रमणको तयारी बारे जानकारी गराउनुका साथै नेपालको संविधानको कार्यान्वयन स्वरूप स्थानीय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भई तीनै तहमा निर्वाचित सरकार गठन भई कार्य सुचारु भइसकेको बताउनु भयो । राजदूत डा=सुवेदीले नवनिर्वाचित सरकारले आर्थिक विकास र समृद्धिलाई राष्ट्रिय एजेन्डाका रूपमा अङ्गीकार गरेको वर्तमान परिप्रेक्ष्यमा दुई सय वर्ष भन्दा लामो घनिष्ट र ऐतिहाँसिक सम्बन्ध थप प्रगाढ बनाउन र पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राज्यमन्त्री सम्माननीय श्री Field ले नेपालको शान्तिप्रक्रिया र लोकतान्त्रिक विकासमा योगदान गरेको संयुक्त अधिराज्यले संविधानको सफल कार्यान्वयनको सहा्रहना गरेको र जननिर्वाचित सरकारले घोषणा गरेको आर्थिक विकासको लक्ष्यमा सहकार्य गर्न संयुक्त अधिराज्य सरकार तत्पर रहेको बताउनुहुँदै आफ्नो यो भ्रमण दुई मुलुकबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न र पर्यटन, शिक्षा, व्यापार र लगानीका नयाँ क्षेत्रहरू पहिचान गर्न सहायकसिद्ध हुने विचार व्यक्त गर्नुभयो ।

राज्यमन्त्री सम्माननीय श्री Field ले नेपालमा रहनुहँुदा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, पूर्व प्रधानमन्त्री माननीय श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसँग शिष्टाचार भेट तथा वार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले नेपालको उद्योग, वाणिज्य तथा व्यापारसँग सम्बद्ध पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू