अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

बिआरटीनेपाल २०७४ चैत २१ गते २०:०२ मा प्रकाशित

जेनेभा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले यहाँको हिंसा अन्त्यका लागि शान्तिवार्ता मात्र एक विकल्प रहेको भन्दै यस्तो शान्तिवार्ता पुनः थालिने जानकारी उहाँको दिनुभएको समाचारमा जनाइएको छ ।

जेनेभामा मङ्गलवार भएको दातृ सम्मेलनको सम्बोधनका क्रममा महासचिव गुथ्रेसले यमनलाई मानवीय सहायताका लागि पनि आग्रह गर्नुभयो । यमनमा हाल मानवीय सहायताको खाँचो छ र त्यसका लागि केही विदेशी दाता र संस्थाहरूले बाचा पनि गरेका छन्– उहाँले भन्नुभयो । 

तर दुःखको कुरा त यो छ कि यस्तै सहायताको वाचागर्ने मध्येकै कतिपय देशले नै यमनमा विद्रोहीहरुलाई नै हतियार बेचिरहेका छन्– सो सम्बोधनका क्रममा उहाँले भन्नुभयो । यमनको कुल जनसङ्ख्या दुई करोड ७० लाख छ । यहाँका दुई करोड भन्दा बढी नै नागरिकलाई सहायताको आवश्यकता रहेको खाँचो पनि सो सम्मेलनमा औँल्याइएको थियो ।

यहाँको द्वन्द्वको चपेटामा सबैभन्दा धेरै महिला र बालबालिका परेको पनि राष्ट्रसंघका महासचिव गुथ्रेसले बताउनुभयो । उहाँले सहायता सामाग्रीको सहज वितरणका लागि यमनको बन्दरगाह र विमानस्थलहरूमा कुनै पनि किसिमको अवरोध नपु¥याउन पनि आग्रह गर्नुभएको छ । महासचिव गुथ्रेसले युद्धरत पक्षहरूलाई युद्धको नियम पालनाका साथै सर्वसाधारण नागरिकलाई हानी हुने कुनै पनि किसिमका कार्यहरू नगर्न पनि आग्रह गर्नुभएको थियो ।

यमनको सरकारको समर्थनमा यहाँ साउदी अरेबिया नेतृत्वको गठबन्धन कार्यरत छ । सो गठबन्धनले गतवर्ष स्थल र सामुद्रिक नाकाबन्दी लगाएको थियो । ती नाकाबन्दीहरू अहिले केही मात्रामा सहज भएको भए पनि गतवर्षको नाकाबन्दीका कारण उत्पन्न असहजताले गर्दा देशको धेरै क्षेत्रमा मर्का परिरहेको छ । सन् २०११ पछि सुरु भएको अरबमा प्रजातन्त्र मागको क्रान्तिलगत्तै यमनी सत्ता पनि ढलेको थियो । तर केही समयपछि नै यहाँ फेरि अस्थिरता सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू