अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

हार्दिक श्रद्धाञ्जली साहित्यकार मनु ब्राजाकीमा

बिआरटीनेपाल २०७४ माघ १९ गते २:२९ मा प्रकाशित

साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । बि.सं.१९९९ सालमा महोत्तरी जिल्लाको औरहीमा जन्मेका साहित्यकार मनु ब्राजाकीको आज बिहान उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

लामो समय देखी मस्तिष्क शिरोघातबाट पिडित साहित्यकार ब्राजाकीको बास्तविक नाम चेतमान सिंह भण्डारी हो । ‘सगर नासरत’ र ‘हेमन्त हरी’ साहित्यीक नामबाट पनि केहि समय चिनिएका उनि पछि नेपाली साहित्यमा मनु ब्राजाकी नामले प्रसिद्ध रहेका छन् ।

सानै उमेरबाट नेपाली साहित्यमा रुचि भएका उनले बि.सं. २०१९ सालमा अञ्चल सन्देश पत्रिकामा आफ्नो रचना प्रकाशित गरेर औपचारिक साहित्य यात्राको सुरुवात गरेका थिए ।

कथा र गजल बिधामा सक्रिय मनु बाज्राकीको पहिलो कथासंग्रह अवमुल्यन बि.सं. २०३८ सालमा प्रकाशित भएको थियो । त्यसपछिका उनका कथासंग्रहहरु २०४२ सालमा आकाशको फल, २०४६ सालमा तिम्री स्वास्नी र म, २०५२ सालमा भबिश्ययात्रा, २०६० सालमा पारदर्शी मान्छे, र २०७० सालमा अन्नपूर्णाको भोज र मनु ब्राजाकीका लघुकथा साथै २०५६ सालमा गजलसंग्रह काँडाका फूलहरु, २०५९ सालमा गजल गंगा प्रकाशित कृति हुन् भने पछिल्लो समय मनु ब्राजाकीका अमेरिकामा किस्ताबन्दीको सुखी जीवन, पुरुष र पेटीकोट, फेसबुके नेपाली साहित्य सक्किगोनी, अमेरिका ‘वाउ’ अर्थात नेपाली आहा, मनु हुन सक्नेलाई जात चाहिँदैन (गजल), गोहि पनि रुँदोरहेछ (गजल),लगायतका थुप्रै लेख रचना निरन्तर बिआरटी नेपालमा  प्रकाशित हुँदै आएका थिए ।

मनु ब्राजाकीको तिम्री स्वास्नी र म कथा संग्रहले २०४६ सालमा साझा पुरस्कार पाएको थियो भने आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार बाट पनि उनि सम्मानित थिए साथै २०७० सालमा उनको कथासंग्रह अन्नपूर्णाको भोजले पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेको थियो । यसबाहेक उनी मैनाली पुरस्कार, गंगालक्ष्मी पुरस्कार लगायतका सम्मानबाट पनि सम्मानित छन् ।

ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाली साहित्यका होनाहार ब्यक्ती साहित्यका ब्राजाकीको आजै साँझ पशुपती आर्यघाटमा अन्त्यस्टी गरिएको छ । हिन्दु परम्परा अनुसार उनका छोरा अमितसिंह भण्डारीले पार्थिव शरिरमा दागबत्ती दिएका हुन् ।

साहित्यकार ब्राजाकीलाई अन्तिम श्रद्धाञ्जलि दिन साहित्यकार, लेखक लगायत विभिन्न क्षेत्रका व्यक्ति पशुपति आर्यघाटमा पुगेका थिए ।

बिआरटी नेपाल परिवार साहित्यकार मनु ब्राजाकीको निधनप्रति गहिरो दुख ब्यक्त गर्दै उनको चिर शान्तिको कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू