अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

उफ्! घण्टे जीवन

आचार्य प्रभा २०७४ माघ ५ गते ७:३४ मा प्रकाशित

जीवन त अनन्त,अनमोल हुन्छ भन्छन्
तर परदेशमा त घण्टालाई प्राथमिकता दिनु पर्ने
आफ्ना अमूल्य भविष्यका क्षणहरूलाई
तिलान्जली दिएर,
“मुले” घण्टाको हिसाबमा अल्मलिनु पर्ने
जसले बढी घण्टामा आफूलाई ठेल्न सक्यो
अनि चालिस घण्टा आफूलाई पेल्न सक्यो
उही आफूलाई सुरक्षित ठानेको अनुभत गर्ने
अनि………मात्र आफ्नो थैलो बलियो हुने |
हुन पनि हो,
सुनौलो भविष्यको निर्माणमा
आफ्ना सारा खुशीहरुलाई तिलान्जली दिएर
परदेश पस्यो आखिर आफ्नो दीर्घायु जीवनको
यथार्थलाई चटक्क भुलेर
उही घण्टे जीवनमा रम्नु पर्ने बाध्यता
हर प्रवासीको,
जागिरको बहानामा आफूलाई
घण्टासँग परिभाषित गरेर बाँच्नु पर्ने
पल,पललाई मिनेट,घण्टामा
अनुवाद गरेर हाँस्नु पर्ने घण्टे जीवन
हर मज्दुरको|
कस्तो अमूल्य लाग्ने यो घण्टे समय?
पसिनाको कण कणमा निथ्रुक्क भिजेर
भित्ताको घडीमा आँखा नचाउँदै
आफ्नो शरीरलाई सेकेन्ड/मिनेट /घण्टामा
समर्पित गर्नु पर्ने
जब घण्टा बित्दै जान्छ
अनि खुसीको सुस्केरा फ्याँक्दै
फेरि भोलिको घण्टाको सुईरो घुमाउन
आफू तयार हुनु पर्ने,
उफ्!घण्टे जीवन
तरपनि दिवास्वप्नको बहुमूल्य समय
घण्टे समय|