अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

किन मनाईन्छ माघे (मकर) संक्रान्ति  ? 

बिआरटीनेपाल २०७४ पुष ३० गते १:१८ मा प्रकाशित
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे संक्रान्ति  पर्व हो ।
मकर सङ्क्रान्तिको अर्को नाम माघे संक्रान्ति  हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन्न् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।
माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।
धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ ।
माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, यस आलेखमा हाम्रो देशका बेग्लाबेग्लै ठाउँमा बसोबास गर्ने भिन्नभिन्न जनजातीसँग रहेको यस पर्वको सम्बन्ध र त्यसले सञ्चरण गर्ने एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।
सम्बन्ध प्रगाढ बनाउने दिन
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ । यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ । यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ । मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू