अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

शिटहोल कन्ट्रिज भनेको होइनः ट्रम्प

बिआरटीनेपाल २०७४ पुष २८ गते १०:३७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी स्रोत मुलुकहरूलाई ‘शिटहोल कन्ट्रिज’ नभनेको प्रस्ट पारेका छन् ।

‘डाकासम्बन्धी बैठकमा मैले प्रयोग गरेको भाषा नराम्रो थियो, तर मैले प्रयोग गरेको भाषा त्यस्तो चाहिँ थिएन, ’उनले ट्वीटेका छन्, ‘नराम्रो के चाहिँ भयो भने नसोचेको प्रस्ताव भयो जुन डाकाका लागि धक्का हो ।’

राष्ट्रपति कार्यालयमा बिहीबार डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) कार्यक्रमसम्बन्धी छलफल भएको थियो । बैठकमा हइटी, एल साल्भाडोर र अफ्रिकी मुलुकका आप्रवासी जोगाउने सम्बन्धमा छलफलका क्रममा उठेका कुराले ट्रम्प निराश बनेका थिए । त्यसपछि उनले ‘हामीसँग यी शिटहोल देशका मानिस किन छन् ?’ भनेको स्रोतको हवाला दिँदै सिएनएन र वासिङ्टन पोस्टले लेखेका थिए ।

सिएनएनका अनुसार ह्वाइट हाउसका प्रवक्ता राज शाहले ट्रम्पले ‘शिटहोल’ भने नभनेको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे । उनले ‘हाम्रो समाजलाई योगदान दिन सक्ने, अर्थतन्त्र बढाउन सक्ने र हाम्रो विशाल राष्ट्रमा समाहित हुने मान्छे स्वागत गरेर देश बलियो बनाउने स्थायी समाधानका लागि ट्रम्प लडिरहेको’ प्रतिक्रिया दिए ।

ट्रम्पले शुक्रवार बिहान अर्को पनि ट्वीट गरेका छन् । त्यसमा ‘हाइटी र हाइटीका जनताप्रति अपमान हुने गरी कहिल्यै केही नबोलेको’, ‘हाइटीसँग राम्रो सम्बन्ध भएको,’ र उनीहरूलाई ‘देशबाट निकाल नभनेको’ बताएका छन् ।

डाका कार्यक्रम तत्कालीन राष्ट्रपति बाराक ओबामाले अवैधानिक रूपमा अमेरिका छिरेका बालबालिका संरक्षण गर्न ल्याएका थिए । उक्त कार्यक्रमले सयौँ हजार आप्रवासीको संरक्षण गरेको थियो । राष्ट्रपति ट्रम्पले उक्त कार्यक्रम खारेज गरेका छन् । यसबाट बच्चामै अमेरिका छिरेका करिब ७ लाख मानिसको भविष्य अन्योल बनेको छ । डाका कार्यक्रमलाई निरन्तरता दिन ट्रम्ले अमेरिका–मेक्सिको बोर्डरमा पर्खाल बनाउन १८ अर्ब अमेरिकी डलर र पर्खाल व्यवस्थापन गर्न थप करिब १५ अर्ब अमेरिकी डलर बजेट पारित गर्नुपर्ने माग गरिरहेका छन् ।

डिमक्रटहरुले डाका कार्यक्रम अन्तर्गत रहेका आप्रवासी सम्झौताको बस्तु नभएको अडान लिएका छन् । ट्रम्प र उनका सहयोगी रिपब्लिकनहरु भने पर्खाल बनाउने बजेट नपाए डाका कार्यक्रम कङ्ग्रेसबाट समेत रोक्ने पक्षमा छन् । डाका कार्यक्रमलाई निरन्तरता दिन कङ्ग्रेसमा रिपब्लिकनको भोट चाहिन्छ । डाका कार्यक्रमले निरन्तरता नपाए करिब ७ लाख आप्रवासीसँग आफ्नो देश फर्किन वा अमेरिकामा लुकेर बस्नुको विकल्प छैन । डाका कार्यक्रमका विषयमा रिपब्लिकन र डिमक्रटबीच छलफल भइरहेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू