अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

बर्ष २०१७ मा अमेरिकामा भएका मुख्य घटना

जीवन भण्डारी  २०७४ पुष १६ गते ५:०७ मा प्रकाशित

 

 सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए । त्यस बाहेक उहाँसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए । सन् २०१७ लाई विदा गर्दै गर्दा यस वर्ष अमेरिकामा भएका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ । 

अमेरिकी बन्दुक मोह

सन् २०१७ मा अमेरिकी नागरिकको बन्दुकबाट मात्र कम्तीमा ३४६ जनाको ज्यान गइसकेको छ । यसरी अमेरिकामा गएका तीन वर्षयताको तथ्याङ्क हेर्दा प्रत्येक दिन बन्दुकबाटै कम्तीमा एकजनाको ज्यान गइरहेको छ । सन् २०१४ मा निकालिएको पछिल्लो तथ्याङ्कमा अमेरिकामा भएका हत्याकाण्डबाट करिब १५ हजार जनाको ज्यान गएको थियो । ती हत्यामध्ये करिब ६८ प्रतिशतको ज्यान नागरिकका बन्दुकबाटै भएको थियो । अमेरिकामा मात्रै यस वर्ष एक महिनाको अन्तरमा दुई ठूला गोलीकाण्ड भए, त्यसबाट सय भन्दा बढी मारिए । अमेरिकी सहर लस भेगसमा गएको अक्टोबर ३ मा भिषण आक्रमण हुँदा कम्तीमा ५९ जनाको ज्यान गयो । अरु ५२७ जना घाइते भए । त्यो आक्रमण एउटै व्यक्तिले गरेको थियो ।

कन्सर्ट भइरहेको स्थानमा नजिकको होटलको ३२औँ तल्लाबाट भूईँमा गरेको आक्रमणबाट ५९ जना मारिएका छन् भने ५०० भन्दाबढी घाइते भए । ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकले आफूसँगको अनुमति प्राप्त बन्दुकले लस भेगासमा गरेको नरसंहारको संसारमै चर्चामा रह्यो । त्यसैगरी लास भेगासमा भएको सो नरसंहारपछि त्यसको ठीक पाँच हप्ताअघि अर्थात नोभेम्बर ६ मा गोलीहानी अमेरिकाकै सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्काे हत्याकाण्ड भएको थियो । यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको दर्दनाक नरसंहार भनिएको छ ।

उत्तर कोरियाको आणविक तनाव 

सन् २०१७ मा पनि अमेरिका र उत्तर कोरियाको तनाव वर्षभरी चर्चामै रह्यो भने उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेको विषयले विश्वलाई तर्साइरह्यो । अमेरिका र उत्तर कोरियाले एकले अर्कोलाई ध्वस्तपार्ने चेतावनीदेखि तल्लोस्तरको गाली गलौज गर्न पनि पछि हटेनन् । यो आणविक हतियारको होडबाजीले संसारमा ठूलो तहल्का मच्चायो । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हँुदाहँुदै उत्तर कोरियाले पछिल्लो पटक सेप्टेम्बर ३ मा निकै शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्यो । उसका अनुसार सो क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्छ ।

अमेरिका रुस चुनावी विवाद

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले अमेरिकी मिडियाको सन् २०१७ को पनि अधिकांश समय र स्थान लिएको छ । यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो । यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसद्ीय सुनुवाइका लागि नै उभ्यायो । निर्वाचनका समयमा ट्रम्पलाई पुटिनको सूचना तथा प्रविधिको सञ्जालले सघाएको भनी गरिएको प्रचारको विरोधमा उनी उभिएको भए पनि एकजना रुसी वकिलसँग उनका जेठा छोराले नै त्यस समयमा डिल गरेको तथ्य खुल्न आयो । यसले अमेरिकीहरुमा एक हिसाबले ठेस नै लाग्न पुगेको थियो । संसारमै अब्बल दर्जाको देश र नागरिक ठान्ने देश र नागरिकले आफ्नो निर्वाचनमा आफ्नो परम्परागत विरोधी रही आएको रुसको प्रभाव देखिनु र त्यो प्रमाणित पनि हुनुले उनीहरुको प्रतिष्ठामा आँच आएको महसुश भएको थियो । यसले पुटिन र ट्रम्प सम्बन्धमा राम्रो गरेपनि अमेरिकी नागरिकको सोँचमा भने ह्रास ल्याइदिएको महसुश भएको छ ।

अमेरिका प्रवेशमा सात मुस्लिम राष्ट्रका नागरिकलाई निषेध 

डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल विभिन्न ७ देशका नारिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कानुन बनाउनुभयो । तर त्यसको विश्वका मुस्लिम देशहरुले विरोध गरे र भने कि यसरी कुनै देश नै तोकेर अर्काे देशमा प्रवेश गर्न नपाउने भनी गरेको निर्णय मानवअधिकार विरोधी भएको बताए ।

त्यसले गर्दा अदालतलको आँखा पर्यो र अदालतले सो निर्णयको विरुद्धमा फैसला गरिदियो । पुनः ट्रम्प प्रशासन माथिल्ले अदालत गयो, यसको विरुद्धमा । उहाँको त्यो निर्णयको पक्षमा दियो सर्वाेच्च अदालतले फैसला । निकै विवाद नै भए पनि उनको यो एउटा निर्णयले मात्र अमेरिकी राष्ट्रपतिको कामलाई सदर गरिदियो । अन्यथा उनका हरेक कामलाई अदालतले प्रश्न गरेको छ ।

अमेरिकाका कारण जेरुसेलम विवाद

इजरायलको राजधानी जेरुसेलमलाई अमेरिकाले मान्यतादिने निर्णय अकस्मात सार्वजनिक ग¥यो । यसले विश्वका मुस्लिम देशहरुलाई आन्दोलित बनायो । यसैका कारण अमेरिका पनि विश्व समुदायबाट पहिलो पटक नराम्ररी एक्लिन पुग्यो । राष्टपति टम्पले यही डिसेम्बर ६ मा यो निर्णय सार्वजनिक गर्नुभएको थियो । तर त्यसलाई मुस्लिम राष्ट्रहरुले तत्कालै विरोध गरे र त्यसयता लगभग दिनहुँजसो विश्वका मुस्लिम देशहरुमा अमेरिकाको विरुद्धमा जुलुस निस्किन थाल्यो । पछि यस मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ म मतदान नै भयो । अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभामा मतदान भयो । यसरी मतदान हुँदा अमेरिकी प्रस्तावको पक्षमा अर्थात जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकहरूले मतदान गरेका थिए । मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए । (विभिन्न एजेन्सीहरुको सहयोगमा) 

प्रतिक्रिया