अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

(समालोचना) सिद्धिचरण श्रेष्ठको ‘आँसु खण्डकाव्य’ले उब्जाएका लहरहरू

डा.नेत्र एटम

डा.नेत्र एटम २०७४ पुष २ गते २:४८ मा प्रकाशित

हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ ।

— एलेक्स टान

सिद्धिचरण श्रेष्ठले आँसु (२०५०) खण्डकाव्यलाई सामाजिक शोषणप्रतिको विद्रोह र समानताप्राप्तिका निम्ति मानवीय आकांक्षा सशक्त रूपमा प्रक्षेपण गर्ने कलात्मक माध्यम बनाएका छन् । वास्तवमा आँसु दुर्दमनीय परिस्थितिप्रति व्यक्तिको असहमतिलाई तीव्र रूपले प्रतिक्रिया जनाउनका निम्ति प्रकृतिप्रदत्त एउटा महत्त्वपूर्ण माध्यम हो । यस्तो परिस्थिति अत्यधिक व्यथाको पनि हुन सक्छ र आनन्दको पनि । दुवै अवस्थामा मान्छेको रुवाइ खुल्छ र आँखाबाट आँसुको मूल फुट्छ । त्यसैले आँसु दुःख र आश्चर्यको प्रकटीकरण गर्ने एक प्रकारको शब्दकोश नै हो, जसका शब्दहरू आँखाबाट आँसुका नुनिला थोपाका रूपमा निस्कन्छन् र गालामा वाक्यका धर्काहरू सिर्जना गर्दै तिनीहरु बहन्छन् । मानसिक द्वन्द्व र शारीरिक संवेदना नै आँसुका वास्तविक अर्थ हुन् । आन्तरिक जटिलतालाई विरेचन गर्ने प्रक्रियाका रुपमा पनि आँसुलाई विशिष्ट मानिन्छ किनभने त्यसले मनका अन्तरमा दमित रहेका मनोभावलाई सतहमा ल्याइदिन्छ र पीडाको सीमान्त अनुभूतिलाई परिचित गराउनुका साथै दुःखमुक्त पार्ने अमोघ शक्ति दिन्छ । आँसुको परिचय दिँदै कवि श्रेष्ठले प्रस्तुत काव्यमा लेखेका छन् :

आँसु मृतसञ्जीवनी हो, आँसु तापवाशिनी हो
आँसु मेरो जीवनी हो, आँसु सृजनाको ऋणी हो ! (१३)

आखिर आँसुलाई सृजनाका निम्ति अमृतसरह भन्दै यति धेरै महत्त्व किन दिए त कविले ? शरीर वैज्ञानिक सन्दर्भबाट हेर्दा आँसु आँखाको ढकनीको भित्रतिर नानीको ठिक माथि रहेको ल्याक्रिमल ग्रन्थिबाट उत्पन्न हुने पानीदार स्राव मात्र हो । आँसु आउनु हाम्रो स्वेच्छामा निर्भर हुँदैन, स्वचालित स्नायु प्रणालीले नियन्त्रणमा लिएर यसलाई निरन्तर उत्पादन गरिरहन्छ । आँखा झिमझिम पार्दा आँसु आँखाभरि फैलन्छ र त्यसले कर्निया भनिने आँखाको बाह्य संवेदनशील अङ्गलाई चिप्लो पारेर सफा गर्छ । आँखाका कुनामा रहने अश्रुनलीको बाटो हुँदै बाँकी रहेको आँसु नाकको भित्री भागबाट घाँटीतिर पुग्छ र विसर्जित हुन्छ तर मान्छे उत्तेजनमा आउँदा चाहिँ अत्यधिक आँसु उत्पादन हुने हुनाले यो आँखामा डबडबाएर छचल्किन थाल्छ । यी सब प्रक्रियालाई छाडेर सिद्धिचरण श्रेष्ठले आँसु खण्डकाव्यमा चाहिँ आँसुलाई समाजमा रहेका सामन्तहरूले दलितमाथि गर्ने भेदभाव र आर्थिक असमानताबाट उत्पन्न रुवाइको विशेष उत्पादनका रूपमा लिएको छन् । कवि लेख्छन् ः मनुजकै पूजा लिएर, अप्सरालाई नचाई

देवताको स्वर्ग घुम्ने, हक छ के पृथ्वी रुवाई ? (२०)

यसमा पृथ्वीको रुवाइको मूल कारण सामान्य मान्छेको सेवा लिएर, मान्छेलाई वस्तुझैँ उपयोग गरेर स्वर्गीय आनन्द लिने देवतारूपी सामान्तहरूका कारण देखिएको र यस्तो कार्य गर्ने हक कसैलाई नभएको भाव प्रकटित छ ।

आँसु विभिन्न आयाममा निःसृत हुन्छ । हरेक मान्छेको व्यथा र सन्तापलाई अभिव्यक्ति दिन आँसुको प्रवाह हुन्छ । नयाँ जन्मेको बच्चा नाभीविच्छेदको पीडाका कारण आँसुविहीन रुवाइ रुन्छ । त्यो रुवाइ आमाको सुरक्षित र आनन्दित पाठेघरको बिछोडको सन्तापबाट सिर्जना भएको हो । उसलाई खाना र न्यानो साथै कसैको सहाराको जरुरत हुन्छ । उसको आँसुले बच्चा र वरिपरिका मान्छेका बीच अगाध र अदृश्य सम्पर्कसेतु निर्माण गरेको हुन्छ । सिद्धिचरण श्रेष्ठको आँसु खण्डकाव्यमा पनि आँसुको मोल असमानता हटाउने विद्रोहको बिम्ब बन्न आह्वान गरिएको छ, जस्तै :

 

यहाँ छ गाह्रो ज्यूनलाई, यो अमिल्दो छन्दलाई
को मिलाइदिन्छ आज, लौ न आऊ अश्रुधार ! (१०)

कविले यस कृतिमा आर्थिक र जातीय विभेदलाई प्रश्रय दिने समाजलाई व्यङ्ग्य गरेका छन् र यही विभेदका कारण पृथ्वी दन्दनी बलिरहेको देखाएका छन् । पृथ्वी बल्नु भनेको मान्छेभित्रको असमानताविरुद्धकको आवाज आक्रोशमा रूपान्तरित हुनु हो, पृथ्वी डढ्नु भनेको अन्याय र अत्याचारका कारण थिचिएका सबाल्टर्न वर्गप्रतिको शोषण चरममा पुग्नु हो । यसरी तातिएर, रुखिएर आफ्नो अस्तित्व गुमाउन थालेको पृथ्वीलाई जोगाउन कविले आँसुको सञ्चरण गर्नुपर्ने आकांक्षा राखेका छन्, जस्तै :

 

छर्क पानी छर्क पानी, दग्ध ज्वाला यो निभाऊ
भष्म भैकन पृथ्वी डढ्ला, आँसु ल्याऊ आँसु ल्याऊ । (२४)

यो कृति दलितकेन्द्री छ । आफ्नो आर्थिक, सामाजिक, राजनीतिक हकअधिकार गुमाएका दलितहरूको पक्षमा बोल्ने दावा कविले गरेका छन्, जस्तै :

पाप भण्डाफोर गर्दै, हुन्छ जे होस् गाउनेछु
ती गलितको ती दलितको, हक गुमेको बोलनेछु । (२९)

दलित जातिले समाजमा समानाता स्थापनाका निम्ति गरिने सङ्घर्षको स्वरूप दिइएको छ । भेदभावका पक्षपातीलाई यसमा कृत्रिम मान्छेका रूपमा लिइएको छ भने तिनलाई समाप्त पार्नका निम्ति सर्पले झैँ फुङ्कार गर्नुपर्ने आवश्यकता देखाइएको छ, जस्तै :

नभन निर्धो दलित जाति, सर्पले झैँ फूँ गरेर

कृत्रिम मान्छे यी भगाउन, होशमा भय त्रास देऊ (३८)

 

आँसु नै त्यस्तो माध्यम हो, जुन अन्तरात्माबाटै ऊर्जावान् हुन्छ र पुराना, रुढ, प्रतिगामी चिन्तन एवम् व्यवहारलाई त्यसले निमिट्यान्न पारेर फाल्न सक्छ । आँसुले व्यक्तिको क्षमतालाई प्रकाशित गर्न सक्छ । आँसुको यसै भव्य मानवीय शक्तिको पहिचान प्रस्तुत कृतिमा भएको छ, जस्तै :

सब दया माया र करुणा, आँसुकै अवतार हुन् यी
सृजनाको कुतकुती ली, आँसुले नै विश्व रच्छ । (३४)

 

आँसु गहिरो पश्चातापको चिन्ह पनि हो । यसको अन्तर्शक्ति र उपयोगिता पहिचान र निर्णय गर्न निकै व्यापक विवेक आवश्यक पर्छ । यस्तो आँसु अतीतमा गरिएका क्रियाकलापहरूको खेदबाट प्रारम्भ हुन्छ, आफ्नै पापप्रति प्रहार गर्छ, व्यवहारबाट दुःखी हुन्छ अनि सहानुभूति र विशुद्ध न्यायको अपेक्षा गर्छ । जीवनलाई सुमधुर पार्नु नै आँसुको लक्ष्य हो भन्ने भाव आँसु खण्डकाव्यले दिएको छ, जस्तै :
मधुर जीवन पार्नलाई, सत्य सुन्दर चिन्नलाई

जगत ग्रन्थि फुनलाई, आँसुको दरकार पर्छ । (३१)

प्रस्तुत काव्यको अन्त्यमा कविले संसारको अन्याय, अत्याचार, शोषण, भेदभाव आदिबाट मुक्तिका निम्ति आँसु बहाउन आह्वान गरेका छन् । यो अवधारणा मानवको आँसुलाई अर्थहीन हुन नदिने कविको दृढनिश्चयताको सुन्दर र सिर्जनात्मक बिम्ब हो । कविले लेखेका छन् ः

पानी ल्याऊ पानी ल्याऊ, यो विषम आगो निभाउन

यो जगतलाई बचाउन, आँसुको धारा बहाउन । (३१)

 

यो आँसु अवसरबाट वञ्चित, राज्यबाट पछाडि पारिएका, नीतिनिर्माताबाट सधँै महत्त्व नदिइएका, शोषित, अपहेलित, निरष्कृत भएका सबाल्टर्न मानवको प्रतिनिधि हो । यस्तो आँसुको शक्ति आउँदो समयमा प्रबल हुँदै जाने काव्यिक भविष्यवाणी पनि यस कृतिमा पाइन्छ ।
कवि सिद्धिचरण श्रेष्ठले आँसुलाई विश्वरचनाको अलङ्कार ठानेका छन् । श्रमजीवी जनताको हैसियत बढाउनलाई यहाँ न्यायको जित हुनुपर्छ, असमानता हट्नुपर्छ र त्यसका निम्ति एउटा आर्थिक सामाजिक क्रान्तिको आवश्यकता औँल्याई त्यसको नेतृत्व लिन दलित वर्गलाई आह्वान गर्नु आँसु खण्डकाव्यको काव्यिक विशिष्टता हो । पानीले रुखो जमिनलाई पुनर्उब्जाउ भूमिमा परिणत गरेजस्तै हतभागी वर्गमा पनि आँसुले पुनर्साहस सञ्चरण गर्न सक्छ भन्ने विश्वास कविमा जागृत भएको छ । उनको आँसुको गीत यसरी निष्कर्षमा पुगेको छ :
आज बादल जो गगनमा, वृष्टि भई अब झर्छ झर्छ
यो सुकेको पृथ्वीलाई, फेरि नूतन पारिदिन्छ । (११)

साँच्चै, युगकविको आँसु पढ्दै गर्दा अनेक प्रश्नहरू स्वतः आइहाल्छन् ः नेपाली सबाल्टर्नले स्वमुक्तिको क्रान्तिमा नेतृत्व सह्मालेर आँसुको सही मोल निक्र्यौल गर्न सक्लान् ? आँसुको शक्ति चिनेर विषमतालाई हटाई गणतन्त्र नेपालको मौलिक छवि सिर्जना गर्र्ने सामथ्र्य राख्लान् ? सामूहिक हितका निम्ति स्थार्थको बलिदान गर्न सबै नेपाली जनता तयार होलान् ?

यी र यस्ता अनेकौँ प्रश्नहरूको आदर्श उत्तर त हामीसँग तयार छ होला, तर यथार्थमा परिधीय कामहरूमा अलमलिएर सबै प्रमुख काम थाती नै राखेका छौँ हामीले !

 

प्रतिक्रिया