अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

तिमी अफलाईन भइदिंदा

राम लामा अविनाशी २०७४ पुष १ गते २०:१५ मा प्रकाशित

अतीतका केही मिठा अनि केही नमिठा
सम्झना अनि बेदनाहरु सल्बलाएका छन्
अझ भनुँ केही मिठा सम्झनालाई
अनेकौँ नमिठा बेदनाहरुले झ्याप्प छोपेका छन् ।

कहिले आफ्नैबाट लुटिएका,
कहिले परायले आफ्नो भनी बेबकुफ बनाएका,
अनि केही गल्तीहरु, केही पश्चातापहरु
वेदना बनी गह भरि टल्पलाएका छन् ।

जुन, फोनबाटै भए पनि
तिम्रो सामु पोखिने रहर थियो ।
तर, अपुरो नै रह्यो आज
अपसोच, तिमी अफलाईन भयौ आज ।

तिम्रो अनलाइनको प्रतीक्षामा
विचलित यो मुखडालाई
मेरै मिनि बारका ह्विस्कीहरुले
जिस्काई रहेका छन्

ब्लु लेबल,ग्रिन लेबल,ब्ल्याक लेबल,रेड लेबल
एउटा-एउटा बोतलमा
यो नजर चाहर्दा-चाहर्दै
रेड लेबलमा टक्क रोकिन्छ
किनकि, तिम्रो प्रोफाईल पिक्चर पनि
रातो साडीमा सज्जिएको छ
त्यही याद आयो मलाई ।

त्यसैले,
त्यही बोतललाई अगाडि राखी
तिम्रो यादको घुट्की लगाई रहेको छु
नशाको उन्माद सँगै उर्लिएका मेरा भावनाहरू
पिउंदा-पिउँदै बोतल सामु पोखिएछन्
बोतल पुरै रित्तिएछ, आफू पनि ढलिएछ
तिमी भए सँगै ढल्थ्यौ, साला बोतल ठाडै रहेछ ।