अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित

नयाँ दिल्ली, २०७४ मंसिर २६ गते ३:४६ मा प्रकाशित

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनीत हुनुभएको छ ।  पुर्वानुमान अनुसार नै उहाँ अध्यक्षमा मनोनीत हुनुभएको घटनालाई ऐतिहासिक घटनाको रूपमा लिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पार्टीका वरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताउनुभयो ।  “राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रूपमा मनोनीत भएको घोषणा गरिएको छ,” उहाँले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भन्नुभयो । “यो ऐतिहासिक घटना हो,” उहाँले थप्नुभयो ।

झन्डै दुई दशक देखि पार्टीको नेतृत्व गर्दै आउनु भएकी ७१ वर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गर्नुभएको हो ।  गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो । राहुलका पिता राजीव गान्धी, उहाँका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री हुनुभएको थियो ।

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आउनु भएकोमा अहिले अध्यक्ष बनाइएको हो । उहाँले आउदो शनिवार नयाँदिल्लीमा विशेष समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्नुहुनेछ । भारतीय काँग्रेसका कार्यकर्ताहरूले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उहाँको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरूले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।  “धेरै वर्षदेखि म यो दिनको प्रतीक्षामा थिएँ । मेरो हर्षको सीमा छैन,” लामो समयदेखि काँग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भन्नुभयो ।  सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो । (रासस÷एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू