अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

राष्ट्रसंघीय पूर्व महासचिव मुन भन्नुहुन्छ– कोरियाली समस्या खतरापूर्ण छ, राम्ररी सुल्झाउनुपर्छ

बिआरटीनेपाल २०७४ असोज १० गते १६:०५ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछिको अवस्था अत्यन्तै खतरापूर्ण रहेकोले यसको समाधानमा सुझबुझ अपनाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– परिस्थिति पहिलेको जस्तो छैन, अहिलेको झनभन्दा झन् खतरा बढ्दैछ, यसको समाधानमा संयमता अपनाउनु जरुरी छ ।

उहाँले कुनै पनि आकस्मिक द्वन्द्व वा झडपको अवस्था नआओस र शान्तिपूर्ण रूपले यो समस्याको समाधान होस् भनेर यसका सरोकारवालाहरुले सोच्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । दक्षिण कोरियाको एक निजी क्षेत्रको व्यापारिक संस्था फेडरेशन अफ कोरियन इन्डस्ट्रिजले मङ्गलवार राजधानी सोलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्न्नुभएको हो ।

उहाँले भन्नुभयो– सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दुई कोरियाका बिचका कैयौँ उतार चढावहरु आएका छन्, कतिपयले त्यसलाई खतराको रूपमा पनि लिए तर सबैभन्दा ठुलो खतरा भने यति बेला आएको छ । उहाँले यस्तो अवस्था यसअघि कहिल्यै नआएको र यति बेला युद्धकै अवस्था देखिएको भन्दै यसलाई द्वन्द्वमा नभएर शान्तिमा र शान्तिपूर्ण समस्या समाधानमा केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो । यसलाई वान कि मुनले अत्यन्तै खतराको सङ्केत भन्नुभएको हो । यसरी हाइड्रोजन बमको परीक्षण गर्ने कामलाई सामान्य रूपले लिनु हुँदैन र यसको समाधान हतियार नै हो भनेर खोजिनु पनि हुँदैन– उहाँको भनाई थियो ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठुलो भएकोले यसबाट आगामी दिनमा खतरा झन् नथपियोस् भनेर प्रार्थना गर्नुपर्ने उहाँको भनाई थियो । उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बमभन्दा पनि तीन गुणा ठुलो भएको बताइएको छ ।

उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित भएपछि संसारमा निकै ठुलो त्रास फैलिएको छ । उता उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी समेत दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकाले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो । यता उत्तर कोरियाले पुनः आणविक परीक्षणको धम्की दिने र उता अमेरिकी राष्ट्रपतिले झन् शान्तिपूर्ण समाधान होइन कि उत्तर कोरियालाई ध्वस्त पार्नुपर्छ भन्नेजस्ता अभिव्यक्ति आएकोले पूर्व महासचिव वान कि मुनको पनि यो प्रतिक्रिया आएको हो ।

फेरि अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने धम्की दिएको हो । उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिनुभएको हो ।

त्यसैले यो द्वन्द्वको शृंखलालाई अरू बढ्न नदिई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्काे नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताउनुभएको थियो । उत्तर अमेरिकाले सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुने र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिने जानकारी उत्तर अमेरिकाले दिएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू