अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

गजल

मनु ब्राजाकी २०७४ भदौ २६ गते ४:१० मा प्रकाशित

मनु हुनसक्नेलाई जात चाहिंदैन ।
घामलाई जुनेली यो रात चाहिंदैन ।

शोभा दिन, फल दिन, रुख हुन पनि,
फूलैफूलले ढाकेपछि पात चाहिंदैन ।

सबैलाई माया गर्दै एक्लै हिंडे पनि,
आफ्नै मायालुको मात्र साथ चाहिंदैन ।

खोलेफाँडो, ढिडोरोटो बाँडिखाएपछि,
फ्याँक्या जूठोपुरा मासुभात चाहिंदैन ।

मान गर्न हात जोर मन मिलाएर,
मुठी बाँधी हिर्काउने हात चाहिंदैन ।

कसैलाई मार्नसक्नु मात्र जीत हैन,
शह दिनसक्यौ भने मात चाहिंदैन ।