अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

पुरुष र पेटिकोट

मनु ब्राजाकी २०७४ चैत २१ गते १२:३३ मा प्रकाशित

लघु कथा

निकैबेरदेखि छलफल चल्दै छ । मलाई हतारो हुनाले आत्तिरहेको छु । यो क्रान्तिकारी नारीसभा छिटो के सकिएला र ? जे होस् फेला पारिहालें, अब भोग्नु नै छ ।

एउटी दिदी हो कि बैनीले मेरो नाकतिर औंल्याउदै भनिन्-“बुझ्नुभो मिस्टर , तपाईंं त स्त्रीपुरुष समानताको पक्षधर हुनुहुन्छ ; ल भन्नुस् त , अब कति अत्याचार सहने ?”

” अँ , प्रकृतिले नै पुरुषलाई अलि बलियो बनाएको छ , एक-दुई थप्पड कहिलेकाहीं हानिहाल्छ ।” मैले नम्रतापूर्वक जिभ्रो चपाएँ ।
” एहे , बल छ भन्दैमा निर्घात कुट्न पाईन्छ ?” आडैकी अर्की दिदी हो कि बैनीले हुँकार गरिन् ।

मेरो हातमा अखबारले बेह्रेका श्रीमतीज्यूका लुगाफाटाहरु थिए । यो अहिले लगएर ड्राइक्लिनिङ सपमा दिनु थियो । अत: म यी नारी-मुक्तिका समर्थकहरुबाट अहिले फुत्किन चाहन्थें । त्यसो हुनाले झट्पट् समर्थन गरेर उम्किन खोजें ।

” हो-हो कुटिहाल्नु त हुँदैन । अनि सबैले कुट्न पनि कहाँ सक्छन् र ? कोही कोही त्यस्तै जँड्यहा सँड्याहाले …. एेले म बिदा हौं त , मलाई यी यो ड्राइक्लिनरकहाँ पुर्‍याउनु छ ।”

“बस्नुस्-बस्नुस् , एकैछिन् ।” एउटी आकर्षक प्रौढाले मलाई कतै पनि नछोए तापनि अँठ्याएर भनिन् , तपाईंंजस्ता शुभचिन्तकलाई हामी गुमाउन चाहँदैनौं । हो , सबै पुरुष खराब हुन्छन् र कुटपिट गर्छन् भनेर हामी भन्दैनौं । त्यस्ता सज्जन पुरुषहरुको सहयोगद्वारा नै नारी स्वविकासको बाटोमा लमिक्न सक्छे । नारीहरुमाथि अत्याचार गर्ने पुरुषहरु मात्र होइन नारी नै पनि हुन्छन् । यी सबै थोक अशिक्षा र परम्परागत कुसंस्कारहरुले गर्दा हो ।”

अब मलाई पनि रमाइलो लाग्न थाल्यो । किनभने नारीमाथि अत्याचार पुरुषबाट मात्रै हुँदो रहेनछ नारीबाट पनि हुँदो रहेछ भन्ने यथार्थ प्रकट भयो ।
अत: म पनि छलफलका लागि हौसिएँ ।

” हो-हो तपाईंंले ठीक भन्नुभो…… पुरुषले कैद गर्ने अनि नारीले नारीमाथि अत्याचार गर्ने ।”

एउटी बैनीले निंधारदेखि गालासम्म लर्केको केशकुन्तललाई देब्रे हातको कान्छी औंलाले पन्छाउँदै भनिन् , “अब हाम्रो सङ्घर्ष दोहोरो भयो ।”
मैले आफ्नो हातमा लिएको बन्डल सम्झें । तर केही भन्ने सकसकले मलाई छलफलतिरै होम्यो ।

” एउटा कुरा कहिलेकाहीं नारीले पनि पुरुषमाथि ….. ”
चित्ताकर्षक प्रौढा दिदीले मैले आँ गर्नासाथ अलङ्कार बुझिहालिन् ।

” बिचरी असहाय र दुर्वल नारीले केको पुरुषमाथि अत्याचार गर्नु । बलियीबाङ्गी नारीलाई पनि फिस्टे पुरुषले लात्ती हान्छ ।”
” नारीलाई दुर्गा पनि भन्छन् नि ….. ”

” आss , यी पौराणीक गफ हुन् । व्यवहारमा हेर्नुस् , व्यवहारमा ।”

अब मेरो उत्साह सेलायो ।

उत्साह सेलाउनासाथ फेरि मैले हातको बन्डल सम्झें । अनि उपस्थित सबै दिदीबैनीहरुलाई नमस्कार गर्दै बिदा मागें ।
” किन हतारिनुभएको ?” एउटी दुर्गाले भनिन् ,” के छ त्यो बन्डलमा ? ए , ड्राइक्लिनरकहाँ जाने ? कोट-प्यान्ट हो ?”
म नारी-मुक्तिसमर्थक , सोझो र सत्यवादी पुरुष हुनाले निष्कपट भावमा भनें , ” हैन , श्रीमतीका सारीचोलाहरु छन् । ल त अहिले जाउँ ।”
चित्ताकर्षक दिदीले केट मिलेट झैं हाँस्दै भनिन् , ” सारीचोला मात्रै ?”

” ए , त्यो त !” मेरो सत्यवादले फलाक्यो , ” पेटीकोटहरु त घरमै धोएर सुकाउन हाल्दिया छु ।”
सबै गलल्ल हाँसे । म अकमक्क परें । हाँसो निकैबेरसम्म चल्यो । म यी नारी स्वतन्त्रा र समानताका आन्दोलनकारी महिलाहरुका लागि ‘मूर्ख’ पुरुष ठहरिएँ ।

मेरी श्रीमती बिरामी छिन् ।
म बन्डल बोकेर बाहिरिन्छु ।
बाहिर प्रचण्ड घाम छ ।