अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

शरणार्थी समस्याप्रति राष्ट्रसंघको ध्यानाकर्षण

बिआरटीनेपाल २०७४ भदौ २३ गते १३:११ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, २३ भदौ । पछिल्ला केही वर्षमा दक्षिण सुडानमा जारी रहेको आन्तरिक राजनीति सङ्कट र त्यसका कारण उत्पन्न हिंसामा परी ठुलो सङ्ख्याका नागरिक सुडानमा विस्थापित भएकोमा उनीहरूको अवस्था गम्भीर रहेकोले यसतर्फ संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

सुडानमा रहेका ठुलो सङ्ख्याका शरणार्थीको समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघले गत महिनामात्र पनि सबैसँग आग्रह गरेको थियो । सुडानमा प्राय सबैजसो दक्षिण सुडानी शरणार्थी रहेका छन् । दक्षिण सुडान र अन्यत्रका गरी त्यहाँ कम्तीमा पनि छ लाख जना शरणार्थी रहेको तथ्याङ्क संयुक्त राष्ट्रसंघले हालैमात्र सार्वजनिक गरेको थियो । ती शरणार्थीको समस्याबारे अध्ययन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी आयोगका प्रमुखले केही समयअघि सुडानको भ्रमण गर्नुभएको थियो । सुडानको भ्रमणका क्रममा आफूले यहाँका शरणार्थीको अवस्था नाजुक रहेको देखेको बताउनुभएको थियो ।

राष्ट्रसंघीय शरणार्थी प्रमुखले बिहीबारमात्र उक्त समस्या समाधानको सट्टा झनै नाजुक बन्दै गएको बताउनुभएको छ । त्यसैले समस्या समाधानका लागि उहाँले सबैको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले दाताहरुलाई उनीहरूको सहयोगका लागि ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यस सहयोगमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले हालैमात्र पनि सुडानका विदेशमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री र अन्य अधिकारीहरुसँग भेटवार्ता र शरणार्थी समस्या समाधानका लागि आवश्यक परामर्श गर्नुभएको थियो ।

हाल सुडानमा दक्षिण सुडानका र अन्य देशका गरी कम्तीमा पनि छ लाख शरणार्थी रहेका छन् । उनीहरू सुडानका विभिन्न चार वटा राज्यमा छरिएर बसेका छन् । सुडानले ती शरणार्थीका लागि गास बासको समस्या भएको यसअघिदेखि नै बताउँदै आएको छ । दक्षिण सुडानमा बढ्दो हिंसा र आतङ्कका कारण सुडानमा शरणार्थी समस्या बल्झिएको छ । दक्षिण सुडानबाट सीमा पार भएर शरणार्थीहरु सुडान छिर्ने गरेका बताइएको छ ।

गएका केही बर्षयतादेखि दक्षिण सुडानमा जारी हिंसामा कमी आएको छैन । जसका कारण ठुलो सङ्ख्याका शरणार्थी यहाँ आउने गरेका छन् । उनीहरू आधारभूत आवश्यकताबाट पनि वञ्चित हुनुपरिरहेको अधिकारीहरुको भनाई छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू